काठमाडौं – गत आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ७५ अर्ब रुपैयाँ बक्यौता कर असुली हुन बाँकी देखिएको छ। सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार ३ लाख ३० हजार ९१२ जना करदाताले कर तिर्न बाँकी रहेको देखिएको हो ।
बक्यौता बाँकी रहेका करदाताबाट ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका २ हजार ९५ करदाताबाट १ खर्ब ८० अर्ब १० करोड रुपैयाँ बराबर असुली हुन बाँकी देखिएको हो ।
असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख ९३ हजार ६२० करदाताबाट २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ ।
मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड रुपैयाँ, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट ४ अर्ब ९ करोड रुपैयाँ र अन्यतर्फ एक हजार ७७० करदाताबाट ३ अर्ब १५ करोड रुपैयाँ बराबर कर असुली हुन बाँकी छ ।
गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ ।
“बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ २२ अर्ब ७६ करोड रुपैयाँ लक्ष्य रहेकामा ८ अर्ब ७१ करोड रुपैयाँ असुल भई लक्ष्यको तुलनामा ३८.२९ प्रतिशत प्रगति हासिल भएको छ”, वार्षिक प्रतिवेदनमा भनिएको छ ।
त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड रुपैयाँ बक्यौता उठाउने लक्ष्य रहेकामा ६३.२८ प्रतिशत अर्थात् १० अर्ब ३३ करोड रुपैयाँ असुल भएको जनाइएको छ ।
गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड रुपैयाँ प्रगति भई लक्ष्यको तुलनामा ७८.१ प्रतिशत प्रगति भएको छ ।
त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ १८ अर्ब १७ करोड रुपैयाँ लक्ष्य रहेकामा २२ अर्ब २९ करोड रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२.६३ प्रतिशत प्रगति भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij