काठमाडौं – सरकारले नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) को संरचना, प्रणाली र सञ्चालन सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेलाई आधुनिक, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित प्रकाशजंग केसीको नेतृत्वमा अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले ‘जेनजी आन्दोलन’ का क्रममा घाइते भएका २ हजार ४२९ जनालाई जनही १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ संशोधनका लागि तयार गरिएको अध्यादेशलाई जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।
यस्तै, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत नर्वे सरकारबाट करिब ५ मिलियन अमेरिकी डलर र स्वीटजरल्याण्ड सरकारबाट करिब २.१ मिलियन अमेरिकी डलर बराबरको थप अनुदान स्वीकृति दिने निर्णय गरिएको छ।
सहिद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij