काठमाडाैं – गत आर्थिक वर्षमा सबैभन्दा धेरै आयकर बुझाउने वित्तीय कम्पनीको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको छ । कर दिवसको उपलक्ष्यमा सरकारले सबैभन्दा बढी संस्थागत आयकर तिर्ने संस्थाका रुपमा बैंकलाई सम्मान गरेको हो ।
नेपालमा आक्रामक बैंकिङ्गको सुरुआत गरेर दुई दशक अघि नै वित्तीय पहूँच सुदृढिकरणमा सबैभन्दा धेरै मिहेनत गर्ने बैंक थियो, ‘नेपाल इन्भेष्टमेन्ट बैंक’ ।
फ्रान्सेली सहलगानी (ज्वाइन्ट भेञ्चर)मा करीब चार दशक अघि खुलेको तत्कालिन ‘इन्डोस्वेज’ बैंक सञ्चालन भएको १६ वर्षपछि पृथ्वीबहादुर पाँडे सहितका नेपालीले आधा स्वामित्व किनेपछि यो बैंकको नाम फेरेर ‘नेपाल इन्भेष्टमेन्ट’ बनाइएको थियो ।
यसरी स्वदेशी स्वामित्वमा बैंक आएदेखि नै यो बैंकले नेपालमा व्यावसायिक विस्तारका लागि असाध्यै ठूलो भूमिका निर्वाह गरेको हो । कुनै बेला लेखा प्रणालीमा पोख्त नभइसकेको र औपचारिक स्वरुप नै ग्रहण नगरेको नेपाली अर्थतन्त्रलाई व्यापक मात्रामा फैलाउन यो बैंकले ठूलो जोखिम मोलेको थियो ।
कागजपत्रको माथापच्चिसीले मानिसहरु बैंकको ऋण परिचालन नै गर्न नसक्ने अवस्थामा यो बैंकले कागजलाई भन्दा मान्छेको इमानदारिता, उसको व्यावसायिक योजना र इच्छाशक्तिलाई ज्यादा महत्व दिएर काम गरेका थियो । यही कारण स–साना व्यवसायीले पनि बैंकबाट सस्तो ब्याजमा ऋण पाउने र आफ्नो कारोबार बढाउन पाउने अवस्था बन्यो ।
पछिल्लो समय नेपालमा जलविद्युत् क्षेत्रको विकासका लागि यो बैंकले असाध्यै बढी मिहेनत गरेका छ । ‘बिग मर्जर’को अभ्यास थाल्नु अघि सबैभन्दा ठूलो बैंक बन्ने होडमा यो बैंक एक सशक्त दाबेदार बनिरहेको थियो । त्यसैले आफ्नो उक्त छबिलाई कायम राख्न पछिल्लो समय मेगा बैंकलाई गाभिएको छ । यससँगै बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा’ भएको हो ।
देशभर २७५ वटा शाखा सञ्जाल, ६० स्थानमा शाखारहित बैंकिङ, ६५ वटा एक्सटेन्सन काउण्टर र २६४ वटा एटीएम बूथ सहितको विशाल सेवासञ्जाल यो बैंकसँग छ । साथै, अमेरिका, चीन, भारत, कोरिया, हङकङ, जर्मनी, जापान, क्यानडा, ब्रिटेन, सिंगापुर र दुबईका विभिन्न बहुराष्ट्रिय बैंकहरुसँग अन्तरराष्ट्रिय कारोबारको साझेदारी पनि छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij