गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।
काठमाडौ– राष्ट्रिय कर दिवस २०८२ का अवसरमा उत्कृष्ट करदातालाई सम्मानित गरिएको छ । आन्तरिक राजस्व विभागले आज एक कार्यक्रमबीच आर्थिक वर्ष २०८०/८१ को आय विवरणअनुसार क्षेत्रगत रुपमा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मानित गरेको हो ।
सबैभन्दा धेरै आयकर तिर्ने निकायको रूपमा नेपाल दूरसञ्चार प्राधिकरण चयन भएको छ। एकलौटी फर्ममध्ये भने थर्ड आई इन्टरनेशनलले उच्चतम आयकर दाखिला गरेको विभागले जनाएको छ।
बस्तु निर्यात कारोबार गर्ने समूहमा डाबर नेपाल प्रा.लिले सबैभन्दा धेरै कर तिरेर शीर्ष स्थान बनाएको छ। उता सूचना प्रविधि सेवा निर्यातमा संलग्न कम्पनीमध्ये भेरिक्स नेपाल प्रा.लि. उत्कृष्ट करदाता घोषणा गरिएको हो।
कृषि तथा पशुपंक्षीजन्य उद्योगतर्फ पोषक ब्रिडर फार्म प्रा.लि.ले सबैभन्दा बढी आयकर योगदान गरेको छ। यस्तै बैंक, वित्तीय संस्था तथा बीमा कारोबार समूहमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि. शीर्ष करदाताको रूपमा सम्मानित भएको छ।
स्वास्थ्य तथा शिक्षा क्षेत्रका करदातामध्ये नोबे हस्पिटल लि. ले उच्चतम कर तिरेको छ। पर्यटन व्यवसाय समूहमा भने सोल्टी होटल लिमिटेड उत्कृष्ट करदाता बनेको हो।
बस्तु व्यापारको क्षेत्रमा भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रा.लि.ले सबैभन्दा धेरै कर तिरेको छ। वार्षिक कारोबार ५० करोडदेखि १०० करोड रुपैयाँसम्म कारोबार गर्ने करदातामध्ये सि.डी.एस. एण्ड क्लियरिङ लिमिटेड उत्कृष्ट करदाता घोषित गरिएको छ।
उत्पादक उद्योग समूहमा भोटेकोशी पावर कम्पनी प्रा.लि, रेमिट्यान्स तथा मनी ट्रान्सफर व्यवसायतर्फ आईएमई लिमिटेड, तथा व्यक्तिगत करदातामध्ये राज बहादुर शाह सर्वाधिक कर तिर्ने उत्कृष्ट करदाताका रूपमा सूचीकृत भएका छन्।
२०७६ श्रावणदेखि २०८२ आषाढ मसान्तसम्मको अवधिमा समयमै विवरण पेश गरी नियमित कर सहभागिता जनाउने करदातामध्ये सबैभन्दा धेरै मु.अ. कर तिर्ने करदाता नेपाल दूरसञ्चार कम्पनी लिमिटेड भएको विभागले जनाएको छ।
वार्षिक कारोबार ५० करोडसम्म गर्ने व्यवसाय समूहमा भि.एफ. सर्भिसेज (मोरिसस) प्रा.लि. चयन गरिएको छ। साथै विशेष उद्योग समूहमा यूनिलिभर नेपाल लिमिटेडले उत्कृष्ट करदाता बन्न सफल भएको छ।
गतवर्ष सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई सम्मानित गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij