२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी होटलको प्रतिशेयर नेटवर्थ वृद्धि

सिटी होटलको प्रतिशेयर नेटवर्थ वृद्धि

555
Shares

काठमाडौं – सिटी होटल लिमिटेडको प्रतिशेयर नेटवर्थमा बृद्धि भएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो त्रैमासको तुलनामा प्रतिशेयर नेटवर्थ ४.१ रुपैयाँ बढेको छ ।

अघिल्लो त्रैमास ९२०८२ वैशाख–असार० को प्रतिशेयर नेटवर्थ ८०.८३ रुपैयाँ रहेको थियो । आइतबार सार्वजनिक चालू आर्थिक वर्षको पहिलो त्रैमास ९२०८२ साउन–असोज० मा नेटवर्थ बृद्धि हुँदै ८४.९३ रुपैयाँ पुगेको छ ।

सिटी होटल लिमिटेडले हकप्रद शेयर जारी गरेसँगै प्रतिशेयर नेटवर्थ बढेको हो । हकप्रदबाट संकलित रकममार्फत बैंक ऋण तिर्ने कम्पनीको घोषणाले दोस्रो त्रैमासदेखि ब्याज खर्चमा उल्लेखनीय कमी आउने सञ्चालकहरुको विश्वास छ । कम्पनीले गत आर्थिक वर्षमा २६ करोड ४३ लाख रुपैयाँ ब्याज तिरेको थियो । हकप्रद शेयरबाट संकलित रकममार्फत ब्याजमा ३० देखि ३५ प्रतिशत कमी आउनेछ ।

कम्पनीले पछिल्लो समय सञ्चालनमा सुधार गर्नुका साथै नयाँ व्यावसायिक पहलकदमी र वित्तीय भार न्यूनीकरणमा ठोस कदम चालेको छ । यसले कम्पनीको आम्दानी र नगद प्रवाहमा सकारात्मक प्रभाव पारेको छ । कम्पनीले लाभको यात्रालाई थप सुदृढ बनाउन सुधारात्मक पहल र नयाँ आम्दानीका स्रोतहरुको विस्तार गर्ने रणनीति तय गरेको देखिन्छ ।

पहिलो त्रैमासिक अवधिको प्रतिवेदनमा विभिन्न ११ वटा रणनीति उल्लेख गरिएका छन् । अधिक कर्पोरेट कार्यक्रमहरू र निजी समारोहहरू आकर्षित गर्न बैंक्वेट तथा खानपानका सुविधाहरूलाई सुधार गर्ने, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दुतावाससँग सम्बन्धित इभेन्ट तथा कार्यक्रमहरु बढाई आम्दानीमा बृद्धि गर्ने, स्थानीय बजारबाट व्यापार बढाउनका लागि ध्यान केन्द्रित गर्ने, कम्पनीको व्यवसायलाई समय–समयमा समिक्षा गरी शेयरधनीहरुलाई उच्च प्रतिफल प्रदान गर्ने, नेपालमा भविष्यमा अयोजना हुने भनिएका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका महासंघ तथा कल्बहरु संग सहकार्य गर्ने लगायत रणनीति बनाइएको छ ।

कम्पनीले रणनीतिहरु कार्यान्वयन गर्ने क्रममा क्यासिनो सञ्चालनको तयारी गरेको छ । करिब २ महिनाभित्र सञ्चालनमा आउने क्यासिनोबाट उच्च मार्जिन भएको राजश्व स्रोत थपिने भएकाले कम्पनीलाई निरन्तर लाभदायी बनाउने विश्वास गरिन्छ । होटल परिसरमा नयाँ जिम तथा स्पा सञ्चालनको तयारी पनि गरिएको छ । यसले होटलको सेवा दायरा बढाउनुका साथै उच्च श्रेणीका ग्राहकर्लाइ आकर्षित गर्नेछ ।

कम्पनीले आयस्रोत बढाउन प्रयोगमा नआएका होटलका विभिन्न स्थान भाडामा उपलब्ध गराउने तयारी गरेको छ । यसबाट दीर्घकालीन भाडा आम्दानी सुनिश्चित भई सञ्चालन खर्च बहन गर्न थप सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij