काठमाडौं – विदेश पढ्न जाने युवामार्फत तीन महिनामै करिब ४३ अर्ब रुपैयाँ बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोजसम्ममा सेवा खाताअन्तर्गत भ्रमण व्यय १६.४ प्रतिशतले बढेर ६४ अर्ब ५९ करोड पुगेको छ ।
यसमध्ये शिक्षातर्फको व्यय ४२ अर्ब ९६ करोड रुपैयाँ हो । गत वर्षको सोही अवधिमा भ्रमण व्यय ५५ अर्ब ४९ करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब २२ करोड रुपैयाँ थियो ।
समीक्षा अवधिमा खुद सेवा आय ३२ अर्ब ६८ करोडले घाटामा छ । गत वर्षको सोही अवधिमा खुद सेवा आय २३ अर्ब १ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ८.१ प्रतिशतले वृद्धि भई १९ अर्ब १९ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा भ्रमण आय १७ अर्ब ७६ करोड थियो ।