२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विदेशी मुद्राको सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड

विदेशी मुद्राको सञ्चिति २९ खर्ब ७९ अर्ब ८१ करोड

935
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको तथ्यांक सार्वजनिक गर्दै देशको विदेशी विनिमय सञ्चिति  उच्च भएको जानकारी दिएको छ। तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा २९ खर्ब ७९ अर्ब ८१ करोड पुगेको छ। अमेरिकी डलरमा हेर्दा पनि सो अवधिमै सञ्चिति ८.७ प्रतिशतले बढेर १९ अर्ब ५० करोडबाट २१ अर्ब २१ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि उल्लेखनीय रूपमा बढेको छ। असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेको राष्ट्र बैंकको सञ्चिति असोज मसान्तमा १०.५ प्रतिशतले वृद्धि भई २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पनि गत वर्षको अन्त्यको तुलनामा बढेको छ। असार मसान्तमा २ खर्ब ६३ अर्ब ४ करोड रहेको सञ्चिति १८.७ प्रतिशतले वृद्धि भई असोज मसान्तमा ३ खर्ब १२ अर्ब १० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ। असोज मसान्तको कुल सञ्चितिमध्ये भारतीय मुद्राको हिस्सा २४ प्रतिशत रहेको छ, जसले विनिमय संरचनामा भारतको प्रभावलाई प्रस्ट पारेको छ।

सञ्चितिको उपयोगक्षमताका दृष्टिले समेत अवस्था सकारात्मक देखिएको राष्ट्र बैंकको मूल्यांकन छ। आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ प्रणालीसँग रहेको विदेशी विनिमय सञ्चिति १९.९ महिनाको वस्तु आयात तथा १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्षम देखिएको छ। विदेशी विनिमय सञ्चिति देशको आयात भुक्तानी क्षमताको महत्त्वपूर्ण सूचक मानिएको छ।

त्यस्तै, विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात तथा विस्तृत मुद्राप्रदायसँगको अनुपात पनि सुधारिएको छ। २०८२ असोज मसान्तमा यी अनुपातहरू क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत पुगेका छन्। तुलना गर्दा २०८२ असार मसान्तमा यी अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij