२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोअर हेवा खोला जलविद्युत आयोजनालाई जुट्यो लगानी

लोअर हेवा खोला जलविद्युत आयोजनालाई जुट्यो लगानी

1K
Shares

काठमाडौँ – पाँच खपन जलविद्युत प्रालिले निर्माण गर्ने ६.८४८ मेगावाट क्षमताको लोअर हेवा खोला जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सिद्धार्थ बैंक लिमिटेडको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सह–लगानी गर्ने गरी आज वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो।

आयोजनामा सिद्धार्थ बैंकले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ४८.१७ करोड रुपैयाँ गरि कुल ९८.१७ करोड रुपैयाँ ऋण लगानी हुने भएको छ। दुई बैंकले मिलेर आयोजनाको कुल लागतको ७० प्रतिशत (९८.१७ करोड रुपैयाँ) ऋणस्वरूप लगानी गर्ने र बाँकी ३० प्रतिशत लगानी प्रवर्द्धकबाट जुटाइनेछ। आयोजनाको कुल लागत १४०.२५ करोड रुपैयाँ रहेको छ।

कम्पनीका अनुसार हाल आयोजनाको निर्माण कार्य सुरु भइसकेको छ र निर्धारित समयमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।आयोजनाको इलेक्ट्रो–मेकानिकल निर्माण ठेक्का अष्ट्रियाको जेपर्ट ग्रुप सँगको सहकार्यमा अगाडि बढाइएको छ।

प्रवर्द्धक कम्पनीका अध्यक्ष बसन्त कुमार तामाङका अनुसार, यसअघि जेपर्टले अपर हेवा खोला (८.५ मेगावाट) र सुपर हेवा खोला (६ मेगावाट) जलविद्युत आयोजनामा उत्कृष्ट काम गरेको अनुभवका कारण यो आयोजना पनि जेपर्टलाई दिईएको हो।

उनका अनुसार, सम्झौताअनुसार जेपर्टले एक वर्षभित्र सम्पूर्ण उपकरण आपूर्ति र जडानको काम सम्पन्न गर्नुपर्नेछ। तामाङले भने, “हामीलाई विश्वास छ, जेपर्टले समयमै गुणस्तरीय काम पूरा गर्नेछ।”

जेपर्ट ग्रुपका नेपालका निर्देशक राजकिशोर यादवका अनुसार, कम्पनीले हालसम्म नेपालका १९ वटा जलविद्युत आयोजनामा काम गरेको छ, जसमा ९ वटा आयोजना सञ्चालनमा आइसकेका छन्। भारतमा पनि कम्पनीले ५ वटा आयोजनामा ठेक्का पाएको छ, जसमा २ वटा सञ्चालनमा र ३ वटा निर्माणाधीन छन्।

आयोजनाका निर्देशक उदय कान्त झाका अनुसार आयोजनाको कुल हेड १८१.९२ मिटर रहेको छ र यसले वार्षिक ४०.८२ गिगावाट आवर (GWh) विद्युत् उत्पादन गर्नेछ। आयोजनाबाट उत्पादित विद्युत् ३३ केभीको प्रसारण लाइन (३.८ किलोमिटर) मार्फत बनेश्वर सबस्टेशनमा जोडिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij