काठमाडौं – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साधारणसभा आब्हान गरेको छ । कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो मंसिर १२ गते १९औं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान ११ बजेदेखि बस्नेछ।
उक्त साधारणसभाले बैंकले शेयरधनीलाई वितरण गर्ने भनी घोषणा गरिसकेको हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत (७३ करोड ८४ लाख ५० हजार रुपैयाँ) बोनस शेयर र ०.२६३ प्रतिशत (३ करोड ८८ लाख ६५ हजार रुपैयाँ) नगद लाभांश (कर समेत) पारित गर्नेछ।
यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने, समूह ‘क’ का संस्थापक शेयरधनीको प्रतिनिधित्व गर्ने १ जना र समूह ‘ख’ का सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ।
त्यसैगरी बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभाले पारित गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस बैंकले कात्तिक १७ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। बुक क्लोजको आधारमा कात्तिक १६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरू मात्रै साधारणसभामा भाग लिन र सभाले पारित गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij