काठमाडौं- अन्तर्राष्ट्रिय आतिथ्य समूह आइएचजी होटल्स एन्ड रिसोर्ट र लुम्बिनी हेरिटेज लिमिटेडबीच सहकार्य सम्झौता सम्पन्न भएको छ।
सम्झौता अनुसार लुम्बिनीमा ‘क्राउन प्लाजा लुम्बिनी’ नामक विश्वस्तरीय होटल सञ्चालन हुने भएको छ। भारतको नयाँ दिल्लीमा भएको विशेष कार्यक्रममा लुम्बिनी हेरिटेजका अध्यक्ष सुभाष अमात्य र आइएचजीका दक्षिण पश्चिम एसियाका प्रबन्ध निर्देशक सुदीप जैनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
यससँगै आइएचजीले पहिलो पटक काठमाडौं बाहिर आफ्नो ब्रान्ड विस्तार गर्दै लुम्बिनीमा सेवा सुरू गर्न लागेको हो। हालको लुम्बिनी हेरिटेज होटललाई पुनः ब्रान्डिङ गरी क्राउन प्लाजा बनाइनेछ।
होटलमा १४७ कोठा, ७ सुइट, रेष्टुरेन्ट, स्विमिङ पुल, फिटनेस सेन्टर लगायतका आधुनिक सुविधा रहनेछन्। साथै, कम्पनीले ८ महिनाभित्र क्यासिनो सञ्चालन गर्ने योजना पनि बनाएको छ।
गौतम बुद्धको जन्मस्थलबाट करिब १.९ किलोमिटर टाढा रहेको यो होटलले धार्मिक र व्यवसायिक यात्रुहरूका लागि सुविधा दिनेछ।कम्पनीले सन् २०२६ भित्र आइपिओ जारी गर्ने योजना समेत अघि सारेको छ। यसअघि आइएचजीको क्राउन प्लाजा ब्रान्ड नेपालमा सोल्टी होटल मार्फत सञ्चालनमा थियो।
सन् २०२१ मे १४ मा सम्झौता समाप्त भएपछि यो ब्रान्ड पुनः लुम्बिनी मार्फत नेपाल फर्किएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij