काठमाडौं- जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीमध्ये हालसम्म करिब रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी भएको छ। नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त पछिल्लो तथ्याङ्क अनुसार, हालसम्मका भुक्तानीमा अग्रिम (पेश्की) रकम समेत समावेश गरिएको छ।
कुल रू. २३ अर्ब २३ करोड ३७ लाख बराबरका दाबी दर्ता भएका मध्ये सम्पत्ति बीमातर्फ ६७३ दाबीमा रू. २ अर्ब २७ करोड ११ लाख, मोटर बीमातर्फ २,२७० दाबीमा रू. ४७ करोड ७७ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९२ दाबीमा रू. ४ करोड ६२ लाख र अन्य बीमातर्फ ४० दाबीमा रू. २२ लाख भुक्तानी भएको प्राधिकरणले जनाएको छ।
प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशमा सबैभन्दा बढी दाबी भुक्तानी भएको छ। त्यहाँ १,७२३ दाबीमध्ये करिब रू. २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको हो। कोशी प्रदेशमा रू. ३१ करोड ८४ लाख, मधेश प्रदेशमा रू. ४ करोड ७१ लाख, गण्डकीमा रू. १५ करोड १८ लाख, लुम्बिनीमा रू. ८ करोड ७८ लाख, कर्णालीमा रू. ९० लाख र सुदूरपश्चिममा रू. २ करोड ७२ लाख भुक्तानी भएको विवरण प्राप्त भएको छ।
जेन–जी आन्दोलनका क्षतिबाट प्रभावित १४ निर्जीवन बीमा कम्पनी र ४ लघु निर्जीवन कम्पनीहरूमा हालसम्म ३,१८७ बीमा दाबी दर्ता भएका छन्।
यसबीचमा, नेपाल पुनर्बीमा कम्पनीले बीमकहरूलाई रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी उपलब्ध गराएको छ। पुनर्बीमा कम्पनीमा परेका २,८६८ पुनर्बीमा दाबीहरूको कुल रकम रू. १६ अर्ब ५ करोड १३ लाख रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij