२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

जुवातास खेलिरहेको अवस्थामा ९२ जना २८ लाखभन्दा बढी नगदसहित पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ९२ जना २८ लाखभन्दा बढी नगदसहित पक्राउ

1.6K
Shares

काठमाडौँ – देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकासँग करिब २८ लाखभन्दा बढी नगद र तासका बुक बरामद गरिएको प्रहरीले जनाएको छ।

संखुवासभा, ललितपुर, काभ्रे, सिन्धुली, कास्की, दाङ, बाँके र जुम्लालगायत जिल्लामा पछिल्ला तीन दिनयता प्रहरीले विशेष अभियान सञ्चालन गरी जुवातासमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

संखुवासभाको खाँदबारी-१ मा जितकुमार राईले सञ्चालन गरेको ‘खुसुमा होटल’मा खेल भइरहेका बेला राईसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। उनीहरूबाट नगद एक लाख ७२ हजार ९ सय ३५ रुपैयाँ, १६ थान कौडा र ४ बुक तास बरामद गरिएको हो।

त्यसैगरी, ललितपुरको महालक्ष्मी-१ रातामकै चोकस्थित स्वाद रेष्टुरेन्टमा जीवनी थापा सहित १० जनालाई, टिकाथलीस्थित सुरेश नापितको घरमा नापितसहित ९ जनालाई पक्राउ गरिएको छ। उक्त स्थानहरूबाट गरी करिब १३ लाख रुपैयाँ र तासका २७ बुक बरामद गरिएको प्रहरीले जनाएको छ।

काभ्रेमा बनेपा-१२ बाँसडोलका सुमन थापा सहित १३, सिन्धुलीको गोलन्जोर गाउँपालिका-३ ग्वालटारमा ढालबहादुर कार्की सहित २४, कास्कीको पोखरा-९ नयाँबजारमा सुरेश शिल्पकार सहित ६, दाङको तुलसीपुर-५ का हिमराज खड्का सहित ५ र बाँकेको कोहलपुर-१५ चौधरीया गाउँका लक्ष्मीप्रसाद बोहरा सहित ११ जनालाई समेत प्रहरीले पक्राउ गरेको हो।

जुम्लाको चन्दननाथ-१ मा कृष्ण आरसीसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सम्पूर्ण घटनामा संलग्न व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij