२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

जलेका कागजात पुनः प्राप्तिका लागि निवेदन दिन ट्राफिक प्रहरी कार्यालय धाउनु नपर्ने

1.3K
Shares

काठमाडौँ- गत भदौ २३ र २४ गते ‘जेनजी’ युवाहरुको आन्दोलनका क्रममा ट्राफिक प्रहरी कार्यालयमा जलेका सवारीसाधनका कागजातको पुनः प्राप्तिका लागि निवेदन दिन सेवाग्राहीले प्रहरी कार्यालय धाउनु नपर्ने भएको छ ।

जलेका कागजातको पुनः प्राप्तिका लागि अनलाइन प्रणालीमार्फत सेवा लिन सकिने जनाइएको छ । आगजनीका कारण ट्राफिक कार्यालयमा रहेका सवारीसाधनका कागजात, सवारीचालक अनुमतिपत्र, दर्ता किताब, जरिवाना विवरणलगायतका महत्वपूर्ण सरकारी कागजात जलेर नष्ट भएका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयको वेबसाइटमा ‘कागजात हराएमा’मा क्लिक गरी फारम भर्न सकिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

निवेदन सबमिट भएपछि आवेदन नम्बर आउँछ । पछि चेक एप्लिकेसनमा उक्त नम्बर राख्दा क्यूआर कोडसहितको सिफारिस पत्र सेवाग्राहीले प्राप्त गर्छन् । उहाँले भन्नुभयो, “क्युआर कोडको सिफारिस पत्रसहित सम्बन्धित यातायात कार्यालयमा सेवाग्राहीले जानुपर्ने हुन्छ । यसबाट सेवाग्राहीको समयको बचत हुनुको साथै ट्राफिक प्रहरी कार्यालयमा कामको चाप कम हुन जान्छ ।”

साथै कुनै व्यक्तिको कागजात जलेको छ र ट्राफिक प्रहरीले पहिले नै काटेको २४ घण्टे पुर्जी वा सिफारिस पत्रका आधारमा हाललाई सवारीसाधन सञ्चालन गर्न सकिने प्रवक्ता सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्र नभए पनि, यदि ट्राफिक प्रहरीले पहिले काटेको २४ घण्टे पुर्जी वा कुनै प्रमाण रहेको छ भने सोहीलाई आधार मानेर सवारी चलाउन दिइनेछ ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij