कैलाली- कैलालीको टीकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माणाधीन पक्की पुलका लागि बजेटको अभाव देखिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई जोड्ने एउटा महत्वपूर्ण मानिएको कर्णाली सनकट्टी पुलको लागि प्रयाप्त बजेट विनियोजन नहुँदा निर्माणमा ढिलाइ भएको हो । एक अर्ब १८ करोड (भ्याटसहित) ठेक्का सम्झौता भएको पुलको लागि चालु आर्थिक वर्षमा रु १० करोड बजेट विनियोजन भएको छ । निर्माण कम्पनीले ४५ करोड बजेटको सुनिश्चितता सरकारले गर्न सकेको खण्डमा अर्को वर्षको दसँैसम्म पुल सञ्चालनमा ल्याउन सकिने बताएका छ ।
चालु अर्थिक वर्षमा निर्माण कम्पनीले सरकारले विनियोजन गरेको बजेट भन्दा थप रु ३५ करोड बढी बजेट माग गरेको छ । पुल निर्माणको जिम्मा पाएको रसुवा कन्स्ट्रक्सनका प्रबन्धक कृष्ण ढुङ्गेलले बजेटको सुनिश्चितता नभएकै कारण निर्माणको काम सुस्त भएको बताउनुभयो । उहाँले बर्सेनि आउने बजेट माग अनुसार नआएका कारण काम प्रभावित हुँदै आएको बताउनुभयो ।
“यसवर्ष हामीलाई रु ४५ करोड बजेट भएको भए पुल निर्माण गरेर सञ्चालनमा ल्याउन सकिन्थ्यो ।” उहाँले भन्नुभयो, “बजेट १० करोड मात्रै विनियोजन भएको छ । त्यहीँ बजेट अनुसारको काम गर्दा अर्को वर्ष पनि काम सम्पन्न हुँदैन होला ।”प्रबन्धक ढुङ्गेलका अनुसार हालसम्म ६७ प्रतिशत काम सम्पन्न भइसकेको छ । चौध पिल्लरमा १३ पिल्लर निर्माण भइसकेका छन् । बर्दिया क्षेत्रबाट चार पिल्लरको स्ल्याप ढलान भइसकेको छ । “अहिलेको आन्दोलनको प्रभाव नपरेपछि एक महिनामा तीनवटा स्ल्यापको काम सम्पन्न गर्ने योजना छ । त्यसैअनुसार जनशक्ति व्यवस्थापन गरिसकेका छौँ ।” ढुङ्गेल भन्नुहुन्छ, “बजेटको सुनिश्चितता भए काम गर्नका लागि उपकरण र जनशक्तिको अभाव छैन ।”
विसं २०८३ माघसम्म निर्माण सम्पन्न गर्ने आयोजनाको म्याद रहेको छ । आवश्यक बजेटको सुनिश्चितता भएको खण्डमा समयावधि भन्दा अगाडि नै पुल निर्माण सम्पन्न गर्ने योजनामा निर्माण कम्पनी देखिन्छ । कर्णाली नदीको बहावका कारण वर्षमा सात महिना मात्रै काम गर्न सकिन्छ । अन्य पाँच महिना निर्माणको काम ठप्प हुने गरेको छ । अहिले पनि पुल निर्माणको काम अगाडि बढ्न सकेको छैन ।
छठपछि पुलको बाँकी काम सुरु गर्ने तयारीमा निर्माण कम्पनी लागेको छ । “पुल निर्माणका क्रममा स्थानीयको साथ सहयोग निकै पाएका छौँ ।” कृष्ण भन्नुहुन्छ, “नागरिकहरूमा उत्साह छ । उहाँहरु छिटो पुल बनोस् भन्ने चाहनुहुन्छ । तर, सरकारबाट प्रयाप्त बजेट नआउँदा समस्या भएको छ ।”
पुल निर्माण भएपछि व्यापारिक हिसाबले टीकापुरलाई फाइदा हुने विश्वास गरिएको छ । गेरुवा गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्र टीकापुर बन्नसक्ने विश्वास व्यापारीको छ । वर्षांैदेखि टीकापुर उद्योग वाणिज्य सङ्घले सो क्षेत्रमा पुल निर्माणको लागि पहल गर्दै आएको थियो । “पुल निर्माणका लागि उद्योग वाणिज्य सङ्घमार्फत हामीले निकै प्रयास गरेका थियौँ ।” टीकापुर उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष रामबहादुर भण्डारीले भन्नुभयो, “पुल बनेपछि टीकापुरको व्यवसायले उचाई लिने विश्वास गर्दै आएका छौँ ।”
वर्षाँैदेखि डुङ्गामा जोखिमको यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीयको विश्वास छ । पुल नभएका कारण कर्णालीमा वर्षांैदेखि डुङ्गा सञ्चालनमा छ । पुल निर्माण भएपछि जोखिम मोलेर डुङ्गामा सवार गर्नुपर्ने बाध्यता हट्ने स्थानीय राजेन्द्र विश्वकर्मा बताउनुहुँन्छ । “गेरुवा शान्तिबजार जान सन्कट्टी हुँदै जाँदा छिटो हुने भएकाले कर्णालीको जोखिम मोलेर डुङ्गाको सवार गर्नुपर्ने बाध्यता छ ।” उहाँ भन्नुहुन्छ, “अबको त्यो बाध्यता हट्ने आशा जागेको छ । पुल निर्माण भएपछि बर्दिया र टीकापुरको दुरीलाई कम गर्ने विश्वास छ ।”
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij