२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

ऐनापहरा पार्कबाट ६० लाख आम्दानी

ऐनापहरा पार्कबाट ६० लाख आम्दानी

1.3K
Shares

तनहुँ- आँबुखैरेनी गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्यस्थल ऐनापहराबाट एक वर्षमा रु ६० लाख आम्दानी भएको छ । आँबुखैरेनी–२ र ४ को सीमानामा अवस्थित ऐनापहराबाट गाउँपालिकाले गत आर्थिक वर्ष आन्तरिक राजस्वतर्फ रु ६० लाख आम्दानी गरेको हो ।

ऐनापहरामा पर्यटक आकर्षित गर्न पार्क निर्माण गरिएको छ । पार्क प्रवेश गर्नेसँग टिकट लिने गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । स्थानीयलाई रु ५० र बाह्यलाई रु १०० टिकट शुल्क तोकिएको छ । ऐनापहरालाई पर्यटकीय गन्तव्यस्थल बनाउन रु दुई करोड लगानीमा विभिन्न संरचना निर्माण गरिएको छ ।

पृथ्वी राजमार्गसँगै जोडिएको ऐनापहरा पार्क पछिल्लो समय पर्यटकको विश्रामस्थलका रूपमा विकास हुन थालेको छ । सार्वजनिक बिदा र शनिबारका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ । शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी–२ का वडाध्यक्ष आशबहादुर गुरुङले बताउनुभयो ।

ढुङ्गामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटकको रोजाइमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थलका रूपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यस ठाउँ रोजाइमा पर्ने गरेको छ, राजमार्ग भएर यात्रा गर्नेहरू पनि यहाँ रोकिएर आनन्दित भएर जान्छन् ।”

यहाँ रहेका ढुङ्गालाई कलात्मक बनाएर पर्यटकलाई थप आकर्षित बनाइएको छ । झरना झरेको ठाउँको ढुङ्गामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुङ्गामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ । पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिकाले यहाँ गत साउन ३ गतेदेखि ‘स्काइ वाक’ सुरु गरिसकेको छ । स्काइ वाकको मूल्य रु २५० तोकिएको छ । रु १५ लाखको लगानीमा स्काइ वाक निर्माण गरिएको हो ।

करिब ५० मिटर अग्लो र ५७ मिटर लामो स्काइ वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ । ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ ।

यस ठाउँलाई व्यवस्थित गर्न विस्तृत परियोजना प्रतिवेदनअनुसार रु १० करोड बजेट आवश्यक पर्छ । यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायत संरचना निर्माण गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij