२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हुकुर्थुम गाउँका ४३ घरमा खानेपानीको पहुँच

हुकुर्थुम गाउँका ४३ घरमा खानेपानीको पहुँच

565
Shares

बागलुङ- बागलुङको बडिगाड गाउँपालिका–२ हुकुर्थुममा ‘एक घर, एक धारा’ सञ्चालनमा आएको छ । बडिगाड गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थाको लगानी र स्थानीयको जनश्रमदानबाट हुकुर्थमका ४३ घरमा धारा निर्माण गरिएको हो ।

सो संस्थाको रु १५ लाख ६५ हजार, बडिगाड गाउँपालिकाको रु चार लाख ७२ हजार र जनश्रमदान छ लाख चार हजार लागतमा एक घर, एक धारा निर्माण गरिएको गहते–हुकुर्थुम खानेपानी स्वच्छता तथा सरसफाइ आयोजनाका अध्यक्ष केशबहादुर कुमालले जानकारी दिनुभयो । यस अगाडि स्थानीयले गाउँमा रहेको पाँच वटा सार्वजनिक धाराबाट पानी उपभोग गर्दै आएको उहाँको भनाइ छ ।

सीमित धाराबाट सिङ्गो गाउँले पानी उपभोग गर्दा निकै समस्या भोग्नु परेको भन्दै घर–घरमा धारा बनेपछि स्थानीयको दैनिकी नै फरिन थालेको अध्यक्ष कुमालले बताउनुभयो । एक घर, एक धारा बनेपछि एक गाग्री पानी भर्नका लागि घण्टौँ कुर्नु पर्ने समस्या समाधान भएको उहाँको भनाइ छ ।

अध्यक्ष कुमालले भन्नुभयो, “वर्षौँदेखि गाउँमा खानेपानीको समस्या थियो, यस वर्ष बल्ल समाधान भयो, घरको आँगनमै खानेपानी झर्न थालेपछि हामीहरुलाई धेरै सहज भएको छ, पहिले सरसफाइ गर्न, वस्तुभाउलाई खुवाउन साह्रै समस्या हुन्थ्यो, अब त करेसाबारीमा तरकारी खेती गर्न पनि सकिने भयो, घण्टौँ लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भयो ।”

नेवा संस्थाका कार्यक्रम अधिकृत विनोद कोइरालाले व्यक्तिगत र सार्वजनिक गरि ४५ धारा निर्माण गरेको जानकारी दिनुभयो । हुकुर्थुममा दुई किलोमिटर टाढा रहेको मरुवाईझ्याल मुहानबाट पाइप लाइनमार्फत पानी लिएर एक घर, एक धारा निर्माण गरेको उहाँको भनाइ छ । गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेका र समाधानका लागि माग गरेपछि गाउँपालिकासँग सहकार्य गरेर धारा निर्माण गरेको अधिकृत कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij