२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

कोजाग्रत पूर्णिमाः धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै

1.4K
Shares

काठमाडौँ- धनधान्यकी देवी महालक्ष्मीको सोमबार सायंकालमा पूजा आराधना गरी कोजाग्रत पूर्णिमा पर्व मनाइएको छ ।

नेपालीले भव्य रुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन सोमबार कोजाग्रत पूर्णिमाका अवसरमा सायंकालमा घरघरमा महालक्ष्मीको पूजा आराधना गरिएको हो । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि १५ दिन लामो बडादसैँ पर्व समापन हुन्छ ।

शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्ति पनि आजै समापन गरिएको हो । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिनेक्रम पनि समाप्त हुन्छ । आजै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैँ पर्व आमनेपालीले आआफ्नो गच्छेअनुसार मनाएका छन् । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिइ सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकाल बताउनुहुन्छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

लक्ष्मीपूजाको १५ दिनअघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । यो पूर्णिमालाई ‘कौमुदी’ पनि भनिन्छ । आज सोमबार जुवा खेल्ने विधानसमेत रहेको उहाँले बताउनुभयो । महालक्ष्मीसँगै आज हात्तीमा चढेका इन्द्रको पनि पूजा आराधना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij