२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

आगजनी भएका संरचनाको दशैँअघि नै रङरोगन गरिने

940
Shares

काठमाडौँ- सहरी विकासमन्त्री कुलमान घिसिङले आगजनीका कारण कुरुप देखिएका संरचनाको दशैँअघि नै रङरोगन गर्ने गरी तयारी अगाडि बढाइने बताउनुभएको छ ।

आज मन्त्रालयको पदभारपछि सम्बोधन गर्दै उहाँले तत्कालका लागि रङरोगन गरिने र त्यसपछि फर्निचरलगायत अत्यावश्यक सामान व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो ।
मन्त्री घिसिङले पुनर्निर्माण कार्य अगाडि बढाउन विशेष कोष खडा गर्ने तथा त्यसमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई आग्रह गरिने बताउनुभयो ।

“गत साता जेनजी आन्दोलनका क्रममा आगजनी भएका संरचनाको पुनर्निर्माण गर्नुपर्ने र त्यसका लागि आर्थिक स्रोत व्यवस्थापन नै अहिलेको मुख्य चुनौती हो । हाम्रो संरचना हामी आफैँ बनाउन सक्छौँ भन्ने सन्देश दिनका लागि पनि विभिन्न सहयोगीसँग आग्रह गर्नेछौँ”, उहाँले भन्नुभयो, “तत्काल पुनर्निर्माणको काम अगाडि बढाउने गरी एक साताभित्र खाका तयार गरेर अगाडि बढ्नेछौँ ।”

मन्त्री घिसिङले भ्रष्टाचार उन्मूलन र सुशासन कायम गर्ने तथा मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नु ठूलो चुनौती रहे पनि तिनको समाधान गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका सचिव गोपाल सिग्देलले पूर्वाधारमा भएको क्षति मूल्याङ्कन गर्ने, पुनर्निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij