२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो

वीरगञ्ज भन्सारबाट अत्यावश्यक वस्तुको जाँचपास थालियो

1.5K
Shares

पर्सा-‘जेनजी’ समूहको प्रदर्शनी र आन्दोलनका कारण देशमै सबैभन्दा धेरै राजस्व सङ्कलन गर्ने वीरगञ्ज भन्सार कार्यालयको सेवा प्रवाह दुई दिन ठप्प हुँदा अर्बाैं राजस्व सङ्कलनमा नोक्सान बेहोर्नु परेको छ ।

दैनिक औसतमा रु ७२ करोड राजस्व सङ्कलन गर्ने कार्यालयको गत मङ्गलबार र बुधबार दुई दिन राजस्व सङ्कलन लगभग ठप्प भयो । बिहीबारदेखि भने अत्यावश्यक पेट्रोलियम पदार्थ र औषधिजन्य वस्तुको भन्सार जाँचपास प्रक्रिया सुरु भएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले आन्दोलनका कारण कार्यालयमा मानवीय र भौतिक क्षति नभएकाले काम गर्न सहन भएको बताउनुभयो । “जेनजी समूहको प्रदर्शन र आन्दोलनका कारण मङ्गलबार र बुधबार दुई दिन भन्सार जाँचपासको काम लगभग ठप्प जस्तै रह्यो”, उहाँले भन्नुभयो, “बिहीबार भने अत्यावश्यक पेट्रोलियम पदार्थ, ग्यासका बुलेट र औषधिजन्य पदार्थको जाँचपासको काम भएको छ । बिहीबार मात्रै करिब रु १० करोड भन्सार राजस्व सङ्कलन भएको छ ।”

प्रमुख भन्सार प्रशासक ज्ञवालीले आज बिहानदेखि अत्यावश्यक वस्तुको जाँसपास प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । पहिलेकै अवस्थामा फर्किन केही समय लागे पनि नियमित काम गरिने उहाँले बताउनुभयो ।

प्रमुख भन्सार प्रशासक ज्ञवालीले शुक्रबारदेखि भने अत्यावश्यक सामान, बारा र पर्सामा जाने औद्योगिक वस्तु तथा सामानको पनि भन्सार जाँचपास प्रक्रिया अघि बढाइने जानकारी दिनुभयो । “हाम्रो एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा आएका मालवाहक समानलाई सुरक्षित राखेका छौँ ।

स्थानीय प्रशासनले जाँचपास भएका मालवाहक सवारीसहितको समानलाई लैजाने सुरक्षा प्रत्याभूति गर्छ भने हामीले सबै खालका सामान पठाउन तयार छौँ”, उहाँले भन्नुभयो, “अहिले भन्सार कार्यालयमा केही आपूर्तिकर्ता आ–आफ्नो मालसमानको भन्सार जाँचपास प्रक्रिया अघि बढाउन आइरहनुभएको छ ।”

भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालयलाई गत आव २०८१÷८२ मा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो, तर लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात् रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको थियो । यद्यपि, कार्यालयले अघिल्लो आव २०८०÷८१ मा भने रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यस अवधिमा रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्र राजस्व सङ्कलन भएको थियो ।

विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई गत आव आव २०८१÷८२ मा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । त्यस अवधिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ ।

विभागले अघिल्लो आवमा भने सुक्खा बन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व लक्ष्य निर्धारण गरेकामा रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार सङ्कलन गरेको छ । चालु आवको साउन १ गतेदेखि भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएर सेवा प्रवाह गर्दै आइरहेका छन् । चालु आवको साउन महिनामा गाभिएका दुवै भन्सार कार्यालयले रु १८ अर्ब ३९ करोड ६७ लाख राजस्व सङ्कलन गरेका छन् ।

कार्यालयका अनुसार चालु आवको साउन महिनामा लक्ष्यको ८७ दशमलव ६८ प्रतिशत राजस्व सङ्कलन भएको छ । साउनमा रु २० अर्ब ९८ करोड २१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । कार्यालयले गत आवको साउन महिनामा रु १५ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको जनाएको छ । त्यसबेला रु दुई खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख राजस्व सङ्कलन लक्ष्य निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij