२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गंगा हेल्थ केयर इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

गंगा हेल्थ केयर इण्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने

945
Shares

काठमाडौं – गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले नेपाल धितोपत्र बोर्डद्वारा जारी “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” बमोजिम शेयर निष्काशन गर्न प्रक्रिया अगाडी बढाएको छ । सर्वसाधारणहरुका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

यसै सन्दर्भमा, विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गंगा हेल्थ केयर इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष श्री सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने जनाएको छ । नेपालमा गुणस्तरीय स्वास्थ्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यका साथ वि.सं. २०५५(सन् १९९८) मा घरेलु तथा साना उद्योगमा दर्ता भई स्थापना भएको गंगा ब्याण्डेज उद्योग प्रा.लि., हाल गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडको नामबाट तिलोत्तमा नगरपालिका–१४, रुपन्देही स्थित आफ्नै जग्गामा उद्योग स्थापना गरी सञ्चालनमा रहेको छ । उद्योगले कच्चा पदार्थ आयात तथा प्रशोधन गरी उत्पादित सामाग्रीमा करिब ७० प्रतिशतसम्मको मुल्य अभिवृद्धिलाई ध्यानमा राखी व्यापार गर्न सफल भई रहेको छ । मानव स्वास्थ्यलाई उच्च महत्व दिँदै, यस उद्योगले स्वास्थ्यसँग सम्बन्धित विभिन्न प्रकारका सर्जिकल सामग्रीहरु जस्तै ड्रेसिङ्ग ब्याण्डेज, एब्जर्बेन्ट कटन, एब्जर्बेन्ट गज, ब्याण्डेज थान, क्रेप ब्याण्डेज, डिस्पोजेबल मास्क, तथा टेट्रा गजको उत्पादन गरिरहेको छ ।

उपभोक्ता र व्यापारीहरुको आवश्यकता ध्यानमा राखी व्यवसाय विस्तार गर्ने उद्देश्यले, कम्पनीले निकट भविष्यमा थप सर्जिकल सामग्रीहरु जस्तै क्यानुला फिक्सेटर, इलास्टिक एडहेसिभ ब्याण्डेज, डिस्पोजेबल डायपर, डिस्पोजेबल सिरिन्ज, परिक्षणका लागि प्रयोग हुने ग्लोभ्स, तथा स्टेरिलाइज्ड गज उत्पादन गर्ने दीर्घकालीन योजना बनाएको छ, जसले मुलुकको अर्थतन्त्रलाई समेत सुदृढ बनाउने विश्वास लिएको कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij