२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भ्रामक समाचारमा नलाग्न नाडाको आग्रह, विशेष साधारण सभा हुने

भ्रामक समाचारमा नलाग्न नाडाको आग्रह, विशेष साधारण सभा हुने

1.6K
Shares

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले हालै विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएका समाचारप्रति आपत्ति जनाउँदै ती समाचारहरू तथ्यहीन र निराधार रहेको जनाएको छ। संस्थाले आफ्नो सबै गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्रै अघि बढाउँदै आएको स्पष्ट पारेको छ।

नाडाको केन्द्रीय कार्यसमितिको भाद्र ३ र ८ गते बसेका बैठकले संस्थालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिन विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट लिने निर्णय गरिसकेको छ। यस प्रक्रियामा सदस्यहरूले मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको संस्थाले जनाएको छ।

यसैबीच, प्राप्त उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको थियो। तर, नाडाबाट कागजात र स्पष्टीकरण प्राप्त गरेपछि जिल्ला प्रशासन कार्यालयले २०८२ साउन १५ गतेको पत्रमार्फत सो आदेश फुकुवा गर्दै प्रचलित कानुन र विधानअनुसार सभा सञ्चालन गर्ने अधिकार पुष्टि गरेको हो। यससँगै तोकिएको मितिमा विशेष साधारण सभा निर्वाध रूपमा सम्पन्न हुने बाटो खुलेको नाडाले जनाएको छ।

पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता दाबीलाई संस्थाले असत्य ठहर गर्दै खण्डन गरेको छ। नाडाले कुनै पनि निर्णय व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा नभई सदस्यहरूको प्रत्यक्ष सहभागिता, मताधिकार र निर्वाचनसहितको साधारण सभाबाट हुनेमा जोड दिएको छ।

नाडाका अध्यक्ष करणकुमार चौधरीले आफू पदमा रहिरहन कुनै व्यक्तिगत स्वार्थ नराखेको स्पष्ट पार्दै, “यदि सबै सरोकारवालाले सहमति जनाउनुभयो भने, म तुरुन्तै निर्वाचनसहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु,” भनेका छन्।

नाडाले अटोमोबाइल व्यवसायीहरूको साझा संस्था भएकाले यसलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग नगर्ने दृढता व्यक्त गरेको छ। संस्थागत सुधार तथा भविष्यका योजनाहरू पारदर्शी, निष्पक्ष र सदस्यहरूको सामूहिक निर्णयमा आधारित हुने नाडाले जनाएको छ।

संस्थाले सदस्य, व्यवसायी तथा शुभेच्छुकलाई भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयको आधिकारिक पत्रले विशेष साधारण सभा निर्वाध सम्पन्न गर्ने अधिकार पुष्टि गरिसकेकाले आगामी साधारण सभा कानुनी र संस्थागत ढाँचाभित्र सम्पन्न हुने नाडाले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij