काठमाडौं- नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाहरुको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिने खर्चलाई व्यवस्थित गर्न नयाँ दिशानिर्देश जारी गरेको छ।
नेपाल राष्ट्र बैंकले यसबारे कडाइ गर्ने उद्देश्यले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (प्रथम संशोधन, २०८२)’ जारी गरेको छ । राष्ट्र बैंकले जारी गरेको संशोधित मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाले पारदर्शी, उद्देश्यपूर्ण र लक्षित वर्गमुखी खर्च गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।
बैंकहरुले आफ्नो नाफाको कम्तीमा १ प्रतिशत सीएसआर कोषमा जम्मा गर्नुपर्ने व्यवस्था पहिले नै भएपनि ब्रान्डिङ, राजनीतिक क्रियाकलाप वा नाफामूलक काममा यो रकम प्रयोग गर्न नपाइने नयाँ नियम ल्याएकाे छ।
साे रकमलाई गरीब, पिछडिएका तथा विपन्न वर्गको उत्थानका लागि प्रयाेग गर्नु पर्ने छ । केन्द्रीय बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, वित्तीय साक्षरता, दीगो विकास लक्ष्य तथा अन्य क्षेत्र भनेर खर्च गर्ने क्षेत्र ताेकिदिएकाे छ ।
अर्धवार्षिक अवधि सुरु हुनुअघि नै सो अर्धवार्षिकभित्र हुने सीएसआर खर्चको सूची राष्ट्र बैंकलाई बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij