काठमाडौँ- यातायात क्षेत्रमा क्रियाशील मजदुर सङ्गठनहरूले पूर्ण तयारी गरेर मात्र ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्न माग गरेका छन् ।
नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र अखिल नेपाल यातायात मजदुर सङ्घले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी पूर्ण तयारी गरेर मात्रै सहुलियत शुल्कमा प्रिन्ट गर्न सकिने वातावरणको विकास गर्दै ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्न माग गरेका हुन् ।
मजदुर सङ्घ सङ्गठनले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने र समयसापेक्ष सुधार गर्ने विषयमा आफूहरू सकारात्मक रहे पनि स्वदेशमै नम्बर प्लेट तयार गर्ने तथा डाटा सुरक्षा गर्ने ग्यारेन्टी सरकारले गर्नुपर्ने बताएका छन् ।
नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारले एक दशकदेखि सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरे पनि यसको कार्यान्वयन र परिणाम राम्रो नभएको बताउनुभयो । “सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्टसमेत गर्न नसकिरहेको र दुई वर्षसम्म पनि नागरिकले लाइसेन्स पाउन नसकिरहेको अवस्था छ । यस्तो बेलामा देशमा रहेको लाखौँ सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने विषय आफैँमा अविश्वासिलो र शङ्कास्पद छ”, उहाँले भन्नुभयो ।
इम्बोस्ड नम्बर प्लेटमा रहने अक्षर र अङ्क देवनागिरी र अङ्ग्रेजी दुवै लिपिमा हुनुपर्ने भन्ने व्यवस्थाविपरीत सरकारले सूचना प्रकाशित गरेको मजदुर संस्थाहरूले बताएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij