काठमाडौं- नेपाल राष्ट बैंकले लघुवित्त वित्तीय संस्थाहरुले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था गरेको छ। लघुवित्तहरुको पूँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपातलाई आधार मानेर ५ देखि २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने व्यवस्था केन्द्रिय बैंकले गरेको हो।
यस अघि १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा सोभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।
नयाँ व्यवस्था अनुसार लाभांश वितरणपछिको पूँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएका लघुवित्तहरुले २५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्। त्यस्तै, पूँजीकोष अनुपात १० देखि १२ प्रतिशत र निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुने लघुवित्तले २० तथा ८ देखि १० प्रतिशत पूँजीकोष अनुपात र ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा हुने लघुवित्तहरुले १५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्।
पूँजीकोष अनुपात र निष्क्रिय कर्जा अनुपातका आधारमा कस्ता लघुवित्तले कति प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्?
यद्यपि, पूँजीकोष र निष्क्रिय कर्जा अनुपातबाट अन्य आधार समेत लिनुपर्ने देखिएमा राष्ट्र बैंकले तोकेको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृत गर्न सक्नेछ। लघुवित्तले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पूँजीकोष अनुपात कायम गर्नुपर्ने व्यवस्था पनि केन्द्रिय बैंकले गरेको छ। यसका साथै १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा अनुपात भएका लघुवित्तहरुले लाभांश वितरण गर्न पाउने छैन्।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij