काठमाडौं – माछापुच्छ्रे क्यापिटल लिमिटेडको छैटौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
साधारण सभा बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा, बालुवाटार सञ्चालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ ।
सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले स्वागत मन्तव्य प्रस्तुत गर्दै विगत वर्षका उपलब्धिहरू, सामना गरेका चुनौतीहरू र आगामी योजनाहरूको विस्तृत विवरण प्रस्तुत गरे । उनले कम्पनीले यस उपलब्धिलाई कम्पनीको अर्को महत्वपूर्ण कोसेढुङ्खाका रूपमा व्याख्या गर्दै, निकट भविष्यमा यस क्षेत्रमार्फत शेयरधनी मूल्य अभिवृद्धि गर्न कम्पनी प्रतिबद्ध रहेको उल्लेख गरे ।
सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आ.व. २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आ.व. २०८२÷८३ का लागि लेखापरीक्षकको नियुक्ति, नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी महत्वपूर्ण प्रस्तावहरू पारित भएका छन् ।
संस्थापक समूहका शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे निर्विरोध निर्वाचित भई पुनः सञ्चालकमा नियुक्त भएका छन् । साथै, सञ्चालक समितिले चुक्ता पूँजीको ५% अर्थात् रु. १,४३,१६,९७५ (एक करोड त्रिचालिस लाख सोह्र हजार नौ सय पचहत्तर) बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।
सभाको समापनमा अध्यक्षले शेयरधनी, माछापुच्छ्रे बैंक लिमिटेड, नियामक निकाय, लेखापरीक्षक, सेवाग्राही, कानुनविद्, सञ्चारकर्मी, विभिन्न साझेदार संस्था, कर्मचारीहरू र माछापुच्छ्रे बैंकका कर्मचारीहरूको निरन्तर सहयोग र योगदानप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । उनले भविष्यमा पनि सबै पक्षहरूको मार्गदर्शन र सहकार्यका साथ कम्पनी अझ मजबुत र सक्षम भएर अघि बढ्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij