२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जनता बहुमुखी क्याम्पसलाई जुट्यो नौ बिघाभन्दा बढी जग्गा

जनता बहुमुखी क्याम्पसलाई जुट्यो नौ बिघाभन्दा बढी जग्गा

1K
Shares

महोत्तरी- महोत्तरीको बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीको उच्च शिक्षाको गन्तव्य हो । यहाँ बर्सेनि विद्यार्थी थपिँदै गएका छन्, तर पर्याप्त जग्गा अभावमा क्याम्पसले समस्या खेप्दै आएको छ । पछिल्लो समय भने यहाँ क्याम्पसलाई स्रोतसाधन जुट्दै गएको छ । क्याम्पस प्रशासनले हालै नौ बिघाभन्दा बढी जग्गा प्राप्त भएको जनाएको छ ।

विसं २०६४ मा बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयमा सञ्चालन हुँदै आएको क्याम्पस पाँच÷छ वर्षपछि बर्दिबास–१४ मा छ कट्ठा जग्गामा भवन बनाएर सञ्चालन हुँदै आएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस रहेको यहाँ हाल एक हजार २०० विद्यार्थी छन् । बर्सेनि विद्यार्थी सङ्ख्या बढ्दै गएको पनि क्याम्पसलाई थप भवन बनाउन ठाउँ अभाव भइरहेका बेला यसपालि नौ बिघा एक कट्ठा नौ धुर जग्गा प्राप्त भएका क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर हमालले जानकारी दिनुभयो ।

उहाँकाअनुसार साबिक २५ नं बहादुरगञ्ज–२ (ङ) को कित्तानम्बर १७ र १८ बाट जग्गा प्राप्त भएको र अब यहाँ थप भवन, खेलमैदान, उद्यान र छात्रावास बनाइने छ । “आवश्यक जग्गा प्राप्त भएको छ, अब स्रोतसाधन र सहयोग जुटाएर थप संरचना बनाउँछौँ । त्यसका लागि समन्वय गरिरहेका छौँ”, अध्यक्ष हमालले भन्नुभयो ।

क्याम्पसलाई बर्दिबास नगरपालिकाको सिफारिसमा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी नेतृत्वको जग्गा प्राप्ति सिफारिस समितिको निर्णयले पर्ति जग्गा प्राप्त भएको जनाइएको छ ।

महोत्तरीका बर्दिबास, भङ्गाहा, औरही र गौशाला नगरपालिका एवं धनुषाको मिथिला नगरपालिकाका क्षेत्रबाट यहाँ अध्ययन गर्न आउने गरेका छन् । क्याम्पसमा छात्रभन्दा छात्राको संख्या बढी छ । क्याम्पस प्रमुख सीताराम खड्काले हाल यहाँ कुल विद्यार्थीको ६० प्रतिशत हाराहारी छात्रा रहेको बताउनुभयो ।

क्याम्पसमा हाल वाणिज्य र शिक्षा सङ्कायमा स्नातक तथा शिक्षा सङ्कायमा स्वास्थ्य र नेपाली विषयमा स्नातकोत्तर तहसम्मको पठनपाठन भइरहेको छ । स्नातक तहमा मानविकी सङ्काय र स्नातकोत्तर तहमा वाणिज्यको पठनपाठन स्वीकृतिका लागि पहल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij