२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

1.8K
Shares

भोजपुर- भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन् । राज्यको नीतिअनुसार यहाँका विद्यालयहरूले कृषिलगायतका प्राविधिक विषयमा व्यावहारिक ज्ञान प्रदान गर्न थालेका हुन् ।

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले भाडामा जग्गा लिएर विद्यार्थीलाई अभ्यासमूलक कृषि शिक्षण गराउँदै आएको छ । यहाँका कक्षा ९ देखि १२ सम्म कृषि बाली विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई व्यावहारिक शिक्षणमा जोड दिइएको हो ।

विद्यालय नजिकै १५ रोपनी जग्गा लिजमा लिएर आधुनिक तथा प्रविधिमैत्री खेती प्रणालीको ज्ञान र सीप प्रदान गर्ने काम भइरहेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमात्र नभई जीवनोपयोगी सीप दिने उद्देश्यले अभ्यासमार्फत शिक्षण गराइँदै आएको छ ।

“हामीले विद्यार्थीलाई अभ्यासमूलक शिक्षणमा जोड दिएका छौँ”, प्रधानाध्यापक रेग्मीले भन्नुभयो, “अहिलेको आवश्यकता प्राविधिक शिक्षाको हो । अध्ययन सकेपछि कुनै न कुनै कृषि उद्यममा संलग्न होस् भन्ने उद्देश्यले यो पद्धति अपनाएका हौँ ।” शिक्षालाई परम्परामुखीभन्दा पनि व्यावहारिक र प्रविधियुक्त बनाउन विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेको उहाँको भनाइ छ ।

विगतमा राज्यबाट सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रम निकै उपयोगी भए पनि हाल त्यो कार्यक्रम हटाइएकाले विद्यार्थी मारमा परेको उहाँको टिप्पणी छ । यस्ता उपयुक्त कार्यक्रमलाई पुनः निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

कृषि विषयका विद्यार्थीले कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी १६ वटा विषय अध्ययन गरिरहेका छन् । कृषिअन्तर्गत प्राविधिक शिक्षा पढ्न चाहनेले कक्षा ९ बाटै प्रवेश गर्नुपर्ने विद्यालयका बाली विज्ञान प्रशिक्षक सुलोचना गिरीले जानकारी दिनुभयो । व्यावहारिक अभ्यास कार्यस्थलमा विद्यार्थीलाई आधुनिक तरिकाले धान, मकै, विभिन्न जातका तरकारी, च्याउखेती, मौरीपालन, माछापालनलगायतका बारेमा ज्ञान दिइन्छ । साथै जैविक विषादी निर्माण, कृषि बालीमा लाग्ने रोग, कीरा र उपचार पद्धतिबारे पनि अभ्यास गराइन्छ । “हामीले विद्यार्थीलाई सबै खालका खेती प्रणालीको अभ्यासमूलक ज्ञान दिँदै आएका छौँ”, प्रशिक्षक गिरीले भन्नुभयो, “विद्यार्थीले यहाँ सिकेको सीपले भविष्यमा आत्मनिर्भर जीवनयापन गर्न सकून् भन्ने हाम्रो लक्ष्य हो ।”

आफ्नै विद्यालयमा प्राविधिक शिक्षा पाउँदा सहजता भएको कक्षा १२ की छात्रा विविहाङमा राईले बताउनुभयो । अभ्यासका माध्यमबाट शिक्षण हुने भएकाले सीप आर्जन गर्न सजिलो भएको उहाँको भनाइ छ । विसं २०७४ देखि बाली विज्ञान व्यावहारिक शिक्षा सुरु भएको विद्यालयले जनाएको छ । हाल यहाँ ३२ जना विद्यार्थी बाली विज्ञान प्राविधिक शिक्षा लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij