काठमाडौं- – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत आवको असार मसान्तसम्म सो नाफा बढेर ३५ करोड २ लाख रुपैयाँ पुगेको हो। खुद बीमाशुल्क आर्जनतर्फ पनि सुधार देखिएको छ। अघिल्लो वर्ष ९ अर्ब १० करोड रुपैयाँ आर्जन गरेको कम्पनीले गत वर्ष २२.८३ प्रतिशतले वृद्धि गर्दै ११ अर्ब १८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको हो।
कम्पनीको कुल आम्दानी १२ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। कुल खर्च पनि बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष १२ अर्ब ७ करोड रुपैयाँ थियो। अभिकर्ता खर्चतर्फ हेर्दा, अघिल्लो वर्ष ८७ करोड ३ लाख रुपैयाँ खर्चिएकोमा यो वर्ष १७.५२ प्रतिशतले बढेर १ अर्ब २ करोड २८ लाख रुपैयाँ पुगेको देखिन्छ।
कम्पनीको जीवन बीमा कोष पनि उल्लेखनीय रुपमा २५.५० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष ३३ अर्ब ७१ करोड रुपैयाँ रहेको कोष यो वर्ष ४२ अर्ब ३१ करोड रुपैयाँ पुगेको हो। चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ।
प्रतिशेयर आम्दानी १० पैसाले बढेर ६ रुपैयाँ ९९ पैसा पुगेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ १२६ रुपैयाँ ८५ पैसा रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij