काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार अभियोगमा आरोप–पत्रदायर गरेको छ ।
भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र लगतकट्टा गरी सो जग्गा मोहीको नाममा जग्गाधनी प्रमाण पुर्जा बनाउने प्रयोजनार्थ घुस रु रु २४ लाख ५० हजार माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उहाँले भन्नुभयो, “भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका कार्यालय प्रमुख आचार्यको मोबाइल डिभाइस र कार्यालय सहयोगी राउतको साथबाट मोबाइल डिभाइस एवं घुस रकम रु २४ लाख ५० हजारसहित भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरबाट नियन्त्रणमा लिइएको हो ।”
प्रतिवादीद्वयले घुस रकम लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुनेमा मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij