काठमाडौं – घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आम्दानी बढेसँगै घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४४ करोड घाटा व्यहोरेको थियो ।
यो अवधिमा कम्पनीको आम्दानी बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २३२.५१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३० करोड ८५ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २ करोड ८३ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।
त्यस्तै कम्पनीको प्रशासनिक, बिक्री तथा वितरण खर्च २८ करोड ९० लाख रुपैयाँ, ह्रासकट्टी खर्च ६७ करोड ४३ लाख र वित्त खर्च ८९ करोड २० लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४.४६ रुपैयाँ ऋणात्मक, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ४९६ रुपैयाँ ८२ पैसा र तरलता अनुपात ०.७५ प्रतिशत कायम भएको छ ।
कम्पनीको रिटेन्ड अर्निङ ३२.३२ प्रतिशतले घटेर १ अर्ब ३८ करोड रुपैयाँमा सीमित भएको छ । कम्पनीले शेयर प्रिमियम शीर्षकमा २ अर्ब ६५ करोड रुपैयाँ राखेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij