२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज

राष्ट्रिय क्रिकेट टिमको जर्सीको मुख्य प्रायोजक नासा सेक्युरिटिज

1.4K
Shares

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीमा ब्रोकर नम्बर ५८ अर्थात् नासा सेक्युरिटिजले  प्रायोजन गर्ने भएको छ।  जर्सी प्रायोजन सम्बन्धी आइतबार नेपाल क्रिकेट संघ (क्यान) र नासा सेक्युरिटिजबीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, महाप्रबन्धक उत्सव ढुंगाना, नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक मदन पौडेल र अनिल श्रेष्ठले हस्ताक्षर गरेका थिए।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चन्द र नासा सेक्युरिटिजका प्रबन्ध निर्देशक पौडेलले संयुक्त रूपमा नयाँ जर्सीको सार्वजनिक अनावरण गरेका थिए।

सम्झौता अनुसार आगामी तीन वर्षका लागि नासाले हरेक वर्ष २ करोड ३६ लाख रुपैयाँ प्रदान गर्नेछ। आज नासा सेक्युरिटीजको नामसहित जर्सी सार्वजनिक गरिएको छ ।  क्यानका सचिव पारस खड्काले बिडिङ प्रक्रियामार्फत नासा छनोट भएको जानकारी दिँदै यसलाई ऐतिहासिक सम्झौता भएको बताएका छन्।

नेपालको राष्ट्रिय टोली टी–२० विश्वकप छनोटको तयारीस्वरूप अस्ट्रेलिया प्रस्थान गर्नु अघिको दिन नयाँ जर्सी सार्वजनिक गरिएको हो। नेपाली टिम अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी–२० सिरिजमा सहभागी हुँदैछ, जुन प्रतियोगिता आगामी अगस्ट १४ देखि २४ सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij