२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने अन्तिम दिन

आज बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने अन्तिम दिन

3.1K
Shares

काठमाडौं – बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने साउन २० गते अन्तिम दिन रहेको छ।

कम्पनीले जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ५ करोड ६६ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ६६ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सो शेयर खरिदका लागि तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाका सबै वडाहरु, आँबुखैरेनी गाँउपालिकाका सबै वडाहरु, भानु नगरपालिका वडा नं. १ तथा गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीले सञ्चालन गरेको आयोजनाको कुल अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। सो आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १०.५ वर्ष रहेको छ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

स्थानिय बासिन्दाले कम्पनीको कार्यालय, तल्लो स्टेशन, बन्दीपुर गाँउपालिका वडा नं. ४, आँबुखैरेनी गाँउपालिकाको कार्यालय, भानु नगरपालिका वडा नं. १ को कार्यालय र पालुङ्गटार नगरपालिका वडा नं. ७ को कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij