२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

डोका बिक्रीबाट मासिक ४० हजार आम्दानी

1.3K
Shares

भोजपुर- भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आएका छन् ।

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत सामग्री लोप हुँदै गएको अवस्थामा उहाँले डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी गर्दै आएका हुन ।

स्थानीय बजारमा डोकोको प्रशस्त माग हुने गरेकाले आफूले बुनेका डोका भोजपुर सदरमुकामका साथै स्थानीय बजारमा बिक्री हुने तामाङले बताए । डोका बुन्ने कामबाट परिवार चलाउन समस्या नरहेको उहाँको भनाइ छ । करिब ४१ वर्षअघिदेखि डोका बुनेर बिक्री गर्दै आएको बताउँदै उहाँले एकदिनमा १० वटासम्म तयार हुने जानकारी दिए ।

“निकै लामो समयदेखि डोका बुन्ने काम गर्दै आएको छु”, तामाङले भने, “एक दिनमा आठदेखि १० वटासम्म डोका बुन्छु । डोका बिक्रीबाट मासिक रु ३५ हजारसम्म आम्दानी हुन्छ ।” उनका अनुसार स्थानीय बजारमा प्रतिवटा रु ३५० देखि ४०० सम्ममा डोको बिक्री हुन्छ । घरको अन्य काम नगरी यही मात्र पेसा गर्ने हो भने वार्षिक रु सातदेखि आठ लाखसम्म आम्दानी लिन सकिने उनको भनाइ छ ।

“डोका बुन्ने कामबाट प्रशस्त आम्दानी हुन्छ”, तामाङले भने, “यही मात्र व्यवसाय गर्ने हो भने वार्षिक रु आठ लाखसम्म आम्दानी गर्न कठिन छैन । अन्य कृषिकर्म गरेर बचेको समयमा बुनेर पनि वार्षिक रु तीनदेखि रु चार लाखसम्म आम्दानी हुन्छ ।”

आफूले बुनेको मालिङ्गो (लेकमा पाइने बाँस प्रजातिको बनस्पति) का डोका जतनसँग प्रयोग गरेमा तीन वर्षसम्म टिक्ने उहाँको भनाइ छ । मालिङ्गोबाहेक, सिँगाने, निकालो, बाँसलगायतको चोयाबाट पनि डोका तयार गर्न सकिने उनको भनाइ छ । डोकाका लागि विभिन्न ठाउँबाट माग हुने तामाङले बताए ।

सामुदायिक वनले कडाइ गर्ने भएकाले कच्चापदार्थ जुटाउन समस्या रहेको तामाङले बताउनुभयो । मालिङ्गो काट्नका लागि वर्षमा एक पटक मात्र वन खुला हुने गरेको उहाँको भनाइ छ । आफ्नै निजी बारीमा उत्पादन हुने मालिङ्गो, सिँगाने लगायत कच्चापदार्थबाट डोका बुन्दै आएको तामाङले जानकारी दिए ।

प्रविधिको विकाससँगै गाउँघरमा नाङ्लो, डोको, थुन्से, फिपी, ढाँकी, मान्द्रो, डालोलगायत बनाउने सीप हराउँदै गएकाले यसको संरक्षण गर्न आवश्यक रहेकाले यसलाई निरन्तरता दिएको तामाङले बताउनुभयो । गाउँघरमा बुढापाकाले मात्र चोयाका सामग्री बनाउने गरेको स्मरण गर्दै उहाँले यस्ता परम्परागत कामलाई व्यावसायीकरण गर्नसके अझ सहज हुने उहाँले धारणा राख्नुभयो । परम्परागत सेसालाई व्यावसायीकरण गर्न स्थानीयले सरकारले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij