काठमाडौं — टोखा नगरपालिका वडा नं. ४ मा स्थायी तथा अस्थायी बसोबास गर्ने परिवारका एसईई परीक्षार्थीहरूमध्ये उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
शनिवार आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री एवं राप्रपा नेता पशुपति शम्शेर ज.ब.रा. रहेका थिए। कार्यक्रममा वडाभित्रबाट एसईई परीक्षा दिएका ६० जना मध्ये ३.९६ जिपिए प्राप्त गरेर सर्वोच्च अंक ल्याउने आहना पोखरेल र अभिजित वाग्लेलाई नगदसहित विशेष सम्मान प्रदान गरियो। साथै अन्य ४५ जना सफल परीक्षार्थीहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएकाे थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वाग्मती प्रदेश क्षेत्र नं. ५ (क) का सांसद राजेन्द्र प्रजापति, शरदचन्द्र शाह स्मृति प्रतिष्ठानकी अध्यक्ष श्रीमती रेणु शाह, वडाका जनप्रतिनिधिहरू अम्विका आचार्य, तारा बहादुर थापा र सरोज ठकुरी, नेपाल सनातन धर्म संस्कृति संगठनका अध्यक्ष योगी पुष्पराज पुरुष, राप्रपा केन्द्रीय सदस्यहरू केशव रेग्मी र स्वाती थापा लगायतको उपस्थिति रहेको थियो।
त्यसै अवसरमा टोखा ४ का जेष्ठ नागरिक समिति अध्यक्ष विष्णु बहादुर कार्की र प्रमुख अतिथि पशुपति शम्शेर राणालाई ८४ वर्षको उमेर प्रवेशको सम्मानस्वरूप “जन-सम्मान २०८२” प्रदान गरिएको थियो।
कार्यक्रममा रक्तदान, श्रावण १५ को अवसरमा परम्परागत खिर खाने कार्यक्रम तथा धार्मिक सत्सङ्ग पनि गरीएकाे थियो।
कार्यक्रमको संयुक्त आयोजना फैमालचुली समाज सेवा समिति र मोक्ष युवा क्लबले गरेका थिए। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा फैमालचुली समाजका अध्यक्ष सुदर्शन थापाले आभार व्यक्त गरे ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij