२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

910
Shares

कञ्चनपुर- दुग्ध विकास संस्थान (डिडिसी) ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मङ्सिरदेखि सङ्कलन भएको दूधको भुक्तानी गर्न नसकेको हो ।

संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले जानकारी दिए । “हामीले डिडिसीबाट मङ्सिरयताको रु ६० लाख रकम पाउनुपर्ने बाँकी छ ।” उनले भने, “डिडिसीले सहकारीलाई भुक्तानी गर्न नसकेपछि हामीले पनि किसानलाई समयमा भुक्तानी गर्न सकेका छैनाँै ।” उनका अनुसार साथी सहकारीले महिनाको पाँच हजार लिटर दूध दुग्ध विकास संस्थानलाई दिँदै आएको छ । संस्थानले दूधको पैसा भुक्तानी नगर्दा दूध उत्पादक किसानलाई दूधको पैसा दिन आफूहरुलाई समस्या भएको उनको भनाइ छ । “हाम्रो सहकारीले दैनिक एक हजार ५०० सम्म किसानबाट दूध सङ्कलन गर्छ । पनेरुले भन्नुभयो, “महिनामा स्थानीय बजारमा तीन हजार लिटरसम्म खपत हुन्छ बाँकी दुग्ध विकास संस्थानलाई दिन्छौँ ।”

त्यसैगरी, यहाँको साना किसान सहकारीले पनि संस्थानबाट दूधको भुक्तानी पाएको छैन । सहकारीका अध्यक्ष खगेश्वर पाण्डेलले संस्थानबाट मङ्सिरयता २९ लाख ५० हजार भुक्तानी पाउनुपर्ने रकम बाँकी रहेको बताए । “हामीले प्रत्येक महिना किसानलाई दूधको पैसा तिर्नुपर्छ संस्थानले समयमा हामीलाई भुक्तानी गर्दैन,” उहाँले भन्नुभयो, “समयमा भुक्तानी नहुँदा हामी समस्यामा परेका छौँ सहकारीमा बचत गरेको पैसाबाट दूध किसानको पैसा भुक्तानी गर्नुपर्ने बाध्यता छ ।”

डिडिसी धनगढी दुग्ध वितरण आयोजनाका प्रमुख निरञ्जन भट्टराईले कञ्चनपुरका सातवटा सहकारी र ३४ वटा फार्मको छ करोड रकम भुक्तानी गर्न बाँकी रहेको जानकारी दिए । “कात्तिकदेखि चैतसम्म बढी दूध सङ्कलन हुने भएकाले भुक्तानीमा ढिलाइ भएको हो,” उनले भने, “बाँकी रहेको छ करोड छिट्टै भुक्तानी हुन्छ, तीन करोड ३७ लाख गत महिनामा भुक्तानी गरिसकेका छौँ ।” उहाँले कञ्चनपुरबाट महिनामा दुई हजार ५०० देखि चार हजार लिटरसम्म दूध सङ्कलन हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij