जनकपुर- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटबारे छानबिन गर्न बिहीबार गठित कार्यदल पुनर्गठन गरिएको छ ।
बिहीबार सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएकामा संयोजकबाट मण्डलले राजीनामा दिएपछि कार्यदल पुनर्गठन गरिएको हो । आज प्रदेशसभा बैठकमा सभामुख मण्डलले उपसभामुख बबिताकुमारी राउत इसरको संयोजकत्वमा १४ सदस्यीय समिति पुनर्गठन गरिएको घोषणा गर्नुभयो ।
समितिको सदस्यमा सत्ता पक्षबाट नेपाली कांग्रेसका मोहम्मद समिम, जङ्गीलाल राय, नागेन्द्र साह, एमालेका सारदादेवी थापा, जनमत पार्टीका चन्दन सिंह, शम्भु साह र लोकतान्त्रिक समाजवादी पाटी (लोसपा) नेपालकी रमिता प्रधान रहनुभएको छ ।
यस्तै, विपक्षी दलहरूका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव, नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल, नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहा, नेपाल सङ्घीय समाजवादीकी विमला अन्सारी, राप्रपा नेपालकी कञ्चन विच्छा र नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह सदस्य रहनुभएको छ ।
समिति पुनर्गठनसँगै मधेश प्रदेशसभामा विपक्षी दलले लगातार गर्दै आएको अवरोध अन्त्य भएको छ । यहाँ विपक्षी दलहरूले सरकारले ल्याएको बजेट त्रुटिपूर्ण रहेको भन्दै विरोध गर्दै आएका थिए ।
विपक्षीको माग सम्बोधन गर्न आवश्यक छानबिनका लागि भन्दै बिहीबार सभामुख मण्डलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो, तर उक्त कार्यदलमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई राखिएपछि विपक्षी दलले अस्वीकार गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij