२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी

पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी

920
Shares

वालिङ (स्याङ्जा)- यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।

गण्डकी प्रदेश सरकारले सिँचाइ प्रयोजनार्थ सो पोखरीलाई आधुनिक तवरले निर्माण गरी पानी सङ्कलन गर्न २० लाख बजेट विनियोजन गरेको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्राविधिक शिवराज थापाले जानकारी दिए ।

“वर्षौंदेखिको पुरानो माटे पोखरीमा पानी सङ्कलन गरेर खेतीपातीमा कृषकले प्रयोग गर्दै आउनुभएको रहेछ,” उनले भने, “माटे पोखरीमा पानी सङ्कलन गर्दा नअडिने, चुहिएर समस्याबाट सास्ती खेपेका कृषकलाई पोखरी पक्की बनेपछि सहज हुने छ ।”

पोखरी १६ मिटर लम्बाइ, आठ मिटर चौडाइ र डेढ मिटर उचाइको छ । पोखरीमा दुई लाख २५ हजार लिटर पानी सङ्कलन गर्न सकिन्छ । कृषकलाई पानी आवश्यक हुँदा खोल्नका लागि ‘गेटबल’ र दुईवटा शाखा कुलो निर्माण गरिएको छ । पोखरीसँगै खेतमा पानी पु-याउन ६० मिटर कुलो पक्की बनाइएको छ ।

कटौंजे सिँचाइ तथा पोखरी व्यवस्थापन उपभोक्ता समितिमार्फत बाउबाजेले निर्माण गरेको पुरानो माटे पोखरीलाई पक्की बनाइ व्यवस्थित गरिएको उपभोक्ता समितिका अध्यक्ष बालप्रसाद डुम्रेले बताए । उनले भने, “अब पोखरीमा सङ्कलन गरिएको पानी चुहिएर खेर जाने समस्या हुँदैन, खेतीपातीमा पानी लगाउन सहज हुने छ ।”

एक हजार १५० मिटर टाढाको ठूलो खोलामा बाँध बाँधेर पाइपमार्फत पोखरीमा पानी ल्याइएको छ । खोलाबाट पोखरीसम्म पानी ल्याउन वालिङ नगरपालिकाले पटक पटक गरी रु ११ लाख सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष डुम्रेले बताए ।

पोखरीमा सङ्कलित पानीले ३५० रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिने भएको हो । वर्षौँदेखि सिंचाइ अभावमा खेतीपाती गर्दै आएका कृषक सिँचाइ पोखरी निर्माण भएसँगै हर्षित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij