२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक अर्ब दुई करोड ९२ लाख बजेट सार्वजनिक

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक अर्ब दुई करोड ९२ लाख बजेट सार्वजनिक

1.3K
Shares

खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब दुई करोड ९२ लाख ३४ हजार तीन सय ९१ बजेट सार्वजनिक गरेको छ । दिक्तेलस्थित जिल्ला समन्वय समितिको सभाहलमा भएको १३औँ नगरसभा बैठकमा उपप्रमुख विशन राईले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरपालिकाबाट आन्तरिक आय रु दुई करोड २० लाख, सङ्घीय सरकारअन्तर्गत राजस्व बाँडफाँडबाट रु १४ करोड ९३ लाख ९० हजार ६७८, सङ्घीय सरकारअन्तर्गत अनुदानबाट रु ६९ करोड २० लाख, प्रदेश सरकारबाट अनुदान शीर्षकमा रु आठ करोड ६८ लाख ४२ हजार र बाँकी अन्य स्रोतबाट खर्च व्यवस्थापन गरिने उहाँले जानकारी दिनुभयो ।

उपप्रमुख राईका अनुसार नगरपालिकाले कृषि, पर्यटन, शिक्षा क्षेत्र सुधार, स्वास्थ्य क्षेत्रको गुणस्तर, स्थानीय गौरवका आयोजना, विपद् व्यवस्थापन, श्रमदानलाई प्रोत्साहन गर्ने, रोजगारी वृद्धि गर्ने, स्थानीय कृषि उत्पादन वृद्धि र बजारीकरण गरी स्वावलम्बी र आत्मनिर्भर गाउँ बनाउनेलागयत विषयलाई बजेटले प्रथामिकता दिएको छ ।

व्यावसायिक कफीखेती प्रवर्द्धन गर्न रु एक करोड, स्थानीय उत्पादनको बजारीकरण गर्न रु १९ लाख, मुढेमा चिस्यान केन्द्र निर्माणका लागि रु २० लाख, बाँदरबाट हुने क्षति न्यूनीकरण गर्दै वैकल्पिक बाली प्रवर्द्धन गर्न रु ३० लाख, प्राङ्गरिक खेती प्रवर्द्धन गर्न रु दश लाख, बङ्गुर र बाख्रा प्रवर्द्धनमा रु १८ लाख, कृषि तथा पशुपक्षी विकास कार्यक्रमअन्तर्गत रु तीन करोड १२ लाख बजेट विनियोजन गरिएको छ ।

रोजगारी तथा लघु उद्यम, पर्यटन पूर्वाधार, सामाजिक विकास, शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, भाषा, संस्कार, संस्कृति प्रवर्द्धन तथा संरक्षण, पूर्वाधार, वन तथा वातावरण, विपद् व्यवस्थापन, सरसफाइ, सामाजिक सुरक्षा, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनका लागि पनि आवश्यक बजेट व्यवस्था गरिएको उपप्रमुख राईले बताउनुभयो ।

यसैबीच, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई र वडा नं ८ का वडाध्यक्ष लीलाकुमार चौहानले नगरसभा बैठक बहिष्कार गर्नुभएको छ । नेतृत्वले आफूखुसी आफ्नो क्षेत्रमा मात्र बजेट ल्याएको भन्दै वडाध्यक्षद्वयले जनताको मागबमोजिम बजेट नआएकाले नगरसभा बहिष्कार गरेको प्रतिक्रिया दिनुभएको छ ।

नगरसभामा नगरप्रमुख तीर्थराज भट्टराईले आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij