म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा खेलमैदान निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको सहयोगमा खयरभारानी युवा क्लवले पाउद्धारमा खेलमैदान निर्माण भएको हो । उपभोक्ता समितिका सचिव भविन पाइजाले पाखोबारी सम्माएर खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाको रु २१ लाख ५० हजार बजेटबाट पाखोबारी सम्माएर ८५ मिटर लम्बाई र ३० मिटर चौडाइको खेलमैदान निर्माण गरिएको जानकारी दिनुभयो । “विद्यालयको खेलमैदानमा खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्दा पठनपाठन समस्या भएपछि नयाँ ठाउँमा जग्गा खोजेर खेलमैदान निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “पाखोबारी सम्माएर खेलमैदान बनाएका हौँ ।”
डोजर परिचालन गरेर सम्माइएको खेलमैदानको डिलतर्फ ग्यावीयन पर्खाल निर्माण र बल छेक्न तारजाली निर्माण गरिएको छ । खेलमैदान निर्माण गर्न स्थानीय रामकृष्ण तिलिजाले दुई लाख २० हजार बराबरको एक आना जग्गा दान गर्नुभएको छ । छ लाख ६० हजार मूल्यबराबरको थप तीन रोपनी जग्गा खरिद गरिएको थियो ।
खेलमैदान निर्माणका लागि पाउद्वारका १३५ घरपरिवारले एक÷एक दिनका दरले श्रमदान गर्नुभएको छ । क्लवमा आवद्ध युवाले पनि योजना निर्माणमा श्रमदान गर्नुभएको छ । खेलमैदानमा स्टेज, प्याराफिट, सार्वजनिक शौचालयलगायतका पूूर्वाधार तयार गर्न बाँकी छन् ।
खेलमैदान निर्माण भएपछि पाउद्धारका युवा युवतिलाई खेलअभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij