२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

सुन्दरबजारमा ‘छोरीको खातामा दुई हजार’ अभियान

890
Shares
default

लमजुङ- छोरीप्रति सम्मान र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले लमजुङको सुन्दरबजार नगरपालिकाले सञ्चालन गर्दै आएको ‘छोरीको खातामा दुई हजार’ अभियान प्रभावकारी बन्दै गएको छ । पालिकाले विसं २०७९ साउन १ गतेदेखि कार्यविधि बनाएर सुरु गरेको उक्त अभियानअन्तर्गत हालसम्म ९० जना नवजात छोरीको नाममा बैंक खाता खोलिएको छ ।

“कार्यक्रमअन्तर्गत नवजात छोरीको नाममा नेपाल बैंक लिमिटेड, सुन्दरबजार शाखामा रु दुई हजार जम्मा गरिन्छ, उक्त रकम छोरी १८ वर्ष पुगेपछि मात्र झिक्न सकिने व्यवस्था गरिएको छ”, नगरका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले भन्नुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थामा जन्मिएका छोरीका अभिभावकले प्रक्रिया पुर्‍याएपछि पालिकाले नगरस्तरमा खाता खोली रकम जम्मा गर्दै आएको छ ।

छोरीको संरक्षकले आफ्नो नागरिकताको प्रतिलिपि, बालिकाको जन्मदर्ता प्रमाणपत्र र वडाको सिफारिस पेस गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्य शाखा प्रमुख परमेश्वर पियाका अनुसार चालु आर्थिक वर्षको हालसम्म २०, गत आवमा ३५ र सुरुआती आव २०७९/८० मा ३५ गरी हालसम्म कूल ९० जना छोरीको नाममा खाता खोलिएको छ ।

चालु आर्थिक वर्षका लागि कार्यक्रम सञ्चालन गर्न नगरले रु एक लाख रु बजेट विनियोजन गरेकामा हालसम्म २० जना खाताका लागि रु ४० हजार खर्च भएको उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख कृष्णप्रसाद कोइरालाले छोरी भएको थाहा पाएपछि गर्भपतन गर्ने, जन्मदर्ता नगरिदिने वा कम उमेमा विवाह गराइदिनेजस्ता सामाजिक समस्यालाई न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी देखिएको बताउनुभयो । यस कार्यक्रम सञ्चालन भएपश्चात् अभिभावकमा छोरीप्रति सकारात्मक सोच र उत्तरदायित्व पनि बढ्दै गएको उहाँको भनाइ छ ।

नगरप्रमुख कोइरालाले यो कार्यक्रमले अभिभावकलाई आफ्नी छोरीका नाममा आर्थिक सञ्चय गर्न प्रेरित गर्नुका साथै समाज सकारात्मक सन्दैश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij