२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु : सञ्चारमन्त्री गुरुङ

सरकारी सञ्चारमाध्यमहरुले नेताको प्रचार नगर्नु, विकासको चर्चा गर्नु : सञ्चारमन्त्री गुरुङ

1.1K
Shares

काठमाडौँ- सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी सञ्चारमाध्यमलाई कुनै नेताहरुको प्रचार नगरी मुलुकमा भएका विकासको चर्चा गर्न आग्रह गरेका छन् ।

सार्वजनिक सेवा प्रसारण नेपाल (पिएसबी) संस्थाले आज नेपाल टेलिभिजनमा ‘सार्वजनिक सेवा प्रसारण नेपाल रुपान्तरण बहसः विविधता, विशिष्टता, पहुँच, प्रभाव र प्रवर्द्धन’ विषयमा आयोजना गरेको छलफल कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारणले नेपाली जनताको आवाज र जनताको प्रतिनिधित्व गर्ने हुँदा अबको कार्यदिशालाई समयसापेक्ष रुपान्तरण गर्न सुझाव दिए । पिएसबीले उठान गर्ने मुद्दाहरुमा राष्ट्रिय एकताको भाव जगाउने, जनताको दुःख मर्कालाई उजागर गर्ने, समृद्धि र सुशासनमा जोड पुर्‍याउने खालका विषयवस्तु हुनुपर्ने मन्त्री गुरुङले बताए ।

रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै चित्त बुझाउने बेला नभएको उल्लेख गर्दै उहाँले अब युग अनुकूलको कार्य सम्पादन गरेर प्रतिस्पर्धामा उत्रिन सुझाव दिए । मन्त्री गुरुङले भने, “रेडियो नेपाल र नेपाल टेलिभिजन उमेरले पाको भएर मात्रै पुगेन, अब समय अनुकूलको कार्य क्षमता प्रदर्शन गरेर अघि बढ्नुपर्छ ।”

सरकारले गरेका गलत कार्यलाई सुधार गर्ने मार्गचित्रका रुपमा पिएसबी देखा पर्नुपर्ने उनको तर्क थियो । यद्यपि समाजमा राष्ट्रिय एकता र सद्भाव जगाउन समावेशी मुलुक बनाउनुपर्ने मन्त्री गुरुङले बताए । संसारमा नेपालको पहिचान स्थापित गराउन ‘एनटिभी वल्र्ड’ सुरु गर्न पनि उहाँले सुझाव दिए ।

सञ्चार सचिव राधिका अर्यालले पिएसबीको सही मोडल अनुसारका कार्य गर्न सुझाव दिए । जनताले पाउनुपर्ने सही सूचनाको अधिकारलाई संरक्षण गर्नुपर्ने उहाँको धारणा थियो । पिएसबीलाई आत्मनिर्भर बनाउन आवश्यक रचनात्मक क्रियाकलाप अपनाउनुपर्नेमा सचिव अर्यालले जोड दिए । साथै, विनियमावली बनाउन र जनशक्तिको उचित व्यवस्थापन गर्न मन्त्रालयले सक्रिय भूमिका खेल्दै आएको बताए ।

पिएसबीका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले जनता पहिलो भन्ने भावका साथ पिएसबीका हरेक कार्यक्रम सिर्जना गरिने बताउँदै यसका लागि विज्ञहरुसँग छलफल गरिएको बताए । नेपाल टेलिभिजन र रेडियो नेपाल अब जनताको आवाज मुखरित गर्न कटिबद्ध हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij