२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

865
Shares

काठमाडौँ – नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।

रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानुनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ ।

समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij