२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जलविद्युत्मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

जलविद्युत्मा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

1.5K
Shares

काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् ।

फ्रान्सको राजधानी पेरिसमा आयोजित ‘फ्रान्स–नेपाल जलविद्युत् लगानी सम्मेलन’लाई आज सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढिरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युत्को महत्त्वपूर्ण भूमिका रहने भएकाले लगानी गर्न आग्रह गरेका हुन ।

सन् १९९९ अघि नेपालको कूल विद्युत् उत्पादन क्षमता २५० मेगावाट रहेकामा २५ वर्षमै तीन हजार ५०० मेगावाट पुगेको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत रहेको अध्यक्ष कार्कीले जानकारी गराए ।

त्रिशूली नदीमा निर्माणाधीन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनमा फ्रान्सले सहयोग गरेको कार्कीले स्मरण गराए । यस परियोजनाका लागि फ्रान्सले अन्तरराष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलर ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत् आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ ।

सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट ऊर्जा उत्पादन पु-याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै, नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने कार्कीको भनाइ छ ।

“लक्ष्यअनुसार १५ हजार मेगावाट भारतमा निर्यात गरिनेछ, भने बाँकी १३ हजार ५०० मेगावाट स्वदेशमै उपयोग गरिनेछ । यो महत्वकांक्षी योजना अन्तरराष्ट्रिय लगानीकर्ताका लागि बिमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका विभिन्न क्षेत्रमा अवसरको रूपमा आएको छ,” उनले भने ।

उनले आगामी असोजमा आयोजना हुने ‘पावर समिट–२०२५’ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने मुलुककको रूपमा स्थापित गर्न सहयोगको आग्रह गरे ।”

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij