२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यारी भन्सार कार्यालयद्वारा ७ लाख राजस्व सङ्कलन

यारी भन्सार कार्यालयद्वारा ७ लाख राजस्व सङ्कलन

395
Shares

हुम्ला – हुम्लाको उत्तरी हिल्सामा स्थापना भएको यारी नाका भन्सार कार्यालयले सात लाख ५५ हजार राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१/२०८२ सकिन अझै दुई महिना बाँकी हुँदा रु सात लाख रुपैयाँ राजस्व सङ्कलन गरेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए। कार्यालयको यो आर्थिक वर्षमा ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको भए पनि हालसम्म रु सात लाख सङ्कलन भइसकेको प्रमुख जैसीले बताउनुभयो । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको उनको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लाङ्केट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व सङ्कलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए। चालु आर्थिक वर्षभित्र अझै राजस्व थप हुने अनुमान गरिएको छ ।

हिल्सा नाका भएर विभिन्न सामग्री आयात गर्ने यहाँका नियमित दश जना व्यापारी छन् । उनीहरुले एक वर्षमा दुई पटकसम्म चीनबाट सामान ल्याउने गरेका छन् । व्यापारीहरुले एक पटक ल्याएको विभिन्न सामानबाट रु ४५ हजारसम्म राजस्व तिर्ने गर्ने गरेका छन् ।

चीनमा काम गर्न गएका कामदारले रु १५ हजारसम्मको घरायसी सामान ल्याउनेलाई राजस्व छुट दिइएको छभने त्यसभन्दा माथिको मूल्यका सामान ल्याउनेबाट राजस्व लिने गरिएको छ ।

चीनबाट हिल्सासम्म सामान ल्याउन साना व्यापारीले कामदार पठाउने गरेका छन् । ठूला व्यापारीले उतैबाट सामान सिल गरेर गाडीमार्फत हिल्सासम्म ल्याउने गरेको उनले बताए ।

यस नाकाबाट आर्थिक वर्ष २०८०/८१ मा रु २२ लाख राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७९/८० मा भने रु १४ लाख राजस्व सङ्कलन भएको थियो । यारी नाका भन्सार कार्यालय वर्षको छ महिना मात्रै सञ्चालन हुने गरेको छ । हिउँदयाममा हिमपात भएर नाका छ महिना बन्द हुने र छ महिना खुल्ने गरेको छ । यही वैशाख १३ गतेदेखि यारी नाका भन्सार कार्यालय सञ्चालनमो छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij