कैलाली- यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा ६० करोड ९० लाख राजस्व सङ्कलन गरेको छ ।
यातायात व्यवस्था कार्यालयका प्रमुख विनोदकुमार मालीका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ४५ करोड ७५ लाख ७३ हजार र सबैभन्दा कम अन्य प्रशासनिक सेवा शुल्कबाट रु सात हजार राजस्व सङ्कलन गरिएको छ । त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरबाट रु १४ करोड १० लाख ५६ हजार, रुटपरमिट, प्रदूषण, पटके (अन्य देशका सवारीबाट उठाइएको) बाट रु ९० लाख ७८ हजार तथा व्यवसाय रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख ९६ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयको बेरुजु रकम भने शून्य रहेको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०र८१ को वैशाखसम्ममा विभिन्न राजस्व शीर्षकबाट जम्मा रु ५६ करोड २८ लाख ९२ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको चालु आर्थिक वर्षको वैशाख र अघिल्लो आर्थिक वर्षको वैशाख महिनासम्मको राजस्व सङ्कलनको तथ्याङ्कलाई तुलना गर्दा चालु आर्थिक वर्षमा रु चार करोड ६१ लाख बढी राजस्व सङ्कलन भएको छ । कार्यालयले अघिल्लो आव २०८०÷८१ मा विभिन्न राजस्व शीर्षकबाट रु ६५ करोड ३१ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो । चालू आवको बेरुजु रकम रु एक लाख १९ हजार रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij