२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?

915
Shares

म्याग्दी- राहुघाट बेसिनमा निर्माणको अन्तिम चरणमा पुगेका चारवटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका छन् ।

जलविद्युत् आयोजनाले डाँडाखेत–राहुघाट १३२ केभी क्षमताको भन्दा मुनि २२० केभी क्षमताको प्रसारण लाइनको तार पर्ने र दुईवटा प्रसारण लाइनको तारको दूरी मापदण्डभन्दा कम हुने गरेर ‘क्रसिङ’ बनाएका हुन् ।

रघुगङ्गा गाउँपालिका–३ पिप्लेमा उत्तरबाट दक्षिणतर्फ आउने आयोजनाको र पश्चिमबाट पूर्व दिशातर्फ जाने डाँडाखेत–राहुघाटको प्रसारण लाइन एकापसमा ‘क्रसिङ’ हुन्छ । प्राविधिक हिसाबले बढी क्षमताको प्रसारण लाइनको तार कम क्षमताको लाइनभन्दा माथि हुनुपर्छ । क्रसिङ हुने ठाउँमा १३२ केभीको लाइनको माथिल्लो तारदेखि २२० केभीको तलको तार बीचको दूरी चार दशमलव पाँच हुनुपर्ने मापदण्ड छ ।

म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पुर्याएको छ ।

डाँडाखेत–राहुघाट प्रसारण लाइनको ‘एपीटु’ र ‘एपीथ्री’ नम्बरको टावरको बीचमा जलविद्युत् आयोजनाले बनाएको प्रसारण लाइन क्रसिङ हुन्छ । सन् २०२१ देखि निर्माण सुरू भएको डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माणमा ढिलाइ भएपछि एक सय ३० दशमलव आठ मेगावाट क्षमताका चारवटा आयोजनाले अम्बाङको सबस्टेशनका विकल्पमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा जोड्न पिप्लेबाट तिल्केनीचौरसम्म वैकल्पिक प्रसारण लाइन बनाएका हुन् ।

राहुघाट बेसिनमा ३७.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना परीक्षण उत्पादनको तयारीमा छन् । डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जलविद्युत् आयोजनाहरूले समन्वय नगरी मापदण्डविपरीत जथभावी टावर बनाएर प्राविधिक हिसाबले त्रुटिपूर्ण प्रसारण लाइन बनाएका बताए ।

“जलविद्युत् आयोजनाले हाम्रो लाइन मुनि बनाएको लाइन हटाउन नौ महिनादेखि पत्राचार गरे पनि अटेरी र बेवास्ता गरेका छन्”, उनले भने, “१३२ केभीभन्दा माथि तार पर्ने गरेर अर्को टावर बनाएर लाइन तान्ने सहमति पनि कार्यान्वयन नगर्दा उनीहरूलाई समस्या पर्ने अवस्था आएको हो ।”

यस विषयमा प्रतिक्रिया लिन ठूलोखोलाका प्रतिनिधि गोपाल निउरे, अपर राहुघाट र चिमखोला–मङ्गले–राहुघाटको प्रवर्द्धक तुदी पावरका प्रतिनिधि इन्द्र ढकाललाई सम्पर्क गर्दा उनीहरूले फोन उठाउनु भएन । तुदी पावरका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले सहमतिअनुसार १३२ केभीको भन्दा २२० केभीको तार माथि पर्ने गरेर अग्लो टावर बनाउने तयारी गरेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij