दाङ – वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गर्नुभएको छ । उहाँले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गर्नुभएको थियो । उनले भने,“विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।”
बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पु¥याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन् । थापालाई लाग्छ म एक दिन बिरामी भएँभने यो दूध अर्काे दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पु¥याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन् । सुरुमा दुईवटा गाईबाट यो पेसामा लागेका थापासँग हाल १७ गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाको भनाइ छ ।
विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे । अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भएका हुन ।
उनले भने, “मैले मासिक एक लाख बढी आम्दानी गर्दै आएको छु मेहनत गरे आफ्नै देशमा पैसा फल्दोरहेछ ।” गाईपालनबाट पाँच वर्षमा थापाले करिब रु ५० लाख आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बन्नुभएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij