२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा, १० अर्ब ऋण लिने प्रक्रियामा

विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा, १० अर्ब ऋण लिने प्रक्रियामा

725
Shares

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणको वित्तीयलगायतको अहिलेको अवस्था समेटेर पत्रकार सम्मेलनमार्फत् श्वेत पत्र सार्वजनिक गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले गत फागुनसम्म नौ अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ । प्राधिकरणले गत आर्थिक वर्ष २०८०/०८१ सम्म प्राधिकरणको कुल सञ्चित नाफा ४६ अर्ब ४७ करोड रुपैयाँ रहेको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिए ।

साढे ४६ अर्ब रुपैयाँ नाफा भने पनि आयकर ऐनको प्रावधानअनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा–नोक्सान गणना गर्दा हालसम्म पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको शाक्यले बताए ।

महालेखाको प्रतिवेदनअनुसार लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका बुँदामध्ये प्राधिकरणले सात अर्ब १९ करोड रुपैयाँ खर्च नलेखेको र चार अर्ब ७२ करोड रुपैयाँ आम्दानी बढी लेखांकन गरेको दाबी शाक्यको छ । यसबीचमा २९.९१ करोड रुपैयाँ आम्दानी नाघेको देखिएको उनले बताए ।
प्राधिकरणले १० अर्ब रुपैयाँ ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । उनले भने, ‘हामीसँग क्यास ब्यालेन्स छैन रहेछ । १० अर्ब रुपैयाँ ऋणका लागि सरकारसँग स्वीकृती लिन पत्र पठाइसकेका छौँ । यसका लागि प्रक्रिया अगाडी बढिसकेको छ ।’

कार्यकारी निर्देशक शाक्यका अनुसार अनुसार चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरूको परिमाण ११ अर्ब ६१ करोड रहेको छ । जुन भुक्तानी दिन सकिएको छैन ।

हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर ने.रू. मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ । २ अर्ब ४७ करोड कल/चालू खातामा रहेको छ ।

जुन दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा हो । यसका लागि बाँकी भुक्तानीको जगेडा नरहेको हुँदा १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij