२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सुरौदी तिखेढुङ्गामा खरबुजाखेती उदाहरणीय बन्दै

सुरौदी तिखेढुङ्गामा खरबुजाखेती उदाहरणीय बन्दै

635
Shares

गण्डकी- पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनाराको तिखेढुङ्गाको करिब ३५ रोपनी जग्गामा यतिखेर लटरम्म खरबुजा फलेका देखिन्छन् । विगतमा तराई र भारतबाट बजारमा ल्याइएका खरबुजा देखेका स्थानीय आफ्नै घरखेत वरपर खरबुजा फलेको देख्दा दङ्ग छन् ।

महानगरपालिका–२१ कृष्तीका ज्ञानबहादुर कार्की र पोखरा–३३ भरतपोखरीका रमेश आचार्यले यहाँ खरबुजा फलाएका हुन । उनीहरूले सरस्वती, रेड भेलरेट, फनेक्स, मान्ठाना र राजा जातका खरबुजा फलाएका छन् । यहाँ उत्पादित खरबुजा अब केही दिनमा बजारमा ल्याउने तयारी छ ।

विगत लामो समयदेखि खरबुजाखेतीमा अनुभव सँगालेका कार्की र व्यावसायिक कृषिमा लगाव भएका आचार्यको यो मेहनत पछिल्लो समय अरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ । पोखरा क्षेत्रमा खरबुजाखेतीको निकै सम्भावना रहेको र दुईजना कृषकले त्यसलाई व्यावहारिक रूपमा प्रमाणित गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाको भनाइ छ ।

विगतमा १०/१२ रोपनी क्षेत्रफलमा मात्रै गरिएको खरबुजाखेती यस वर्ष करिब २०० रोपनी क्षेत्रमा विस्तार गरिएको बताउँदै बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको जानकारी दिँदै उनले बीउ तथा मलचिङमा महानगरले सहयोग गरेको बताए ।

महानगरपालिका–१३, २३, ३०, ३२, ३३ मा यस खेतीतर्फ आकर्षण बढिरहेको महाशाखा प्रमुख कडरियाले जानकारी दिए । “स्थानीय रूपमा उत्पादित खरबुजाको स्वाद पनि निकै मीठो छ । थोरै क्षेत्रफलमा पनि राम्रो उत्पादन लिन सकिने यो खेती आर्थिक समुन्नतिका लागि महत्वपूर्ण आधार बन्न सक्छ”, उनले भने ।

महानगरपालिकाले पोखरामा उत्पादित सरस्वती जातको खरबुजाको ‘ब्रान्डिङ’ गर्न लागेको र त्यसको बजारीकरणका लागि ‘स्टिकर’ तयार पारिसकेको महाशाखा प्रमुख कडरियाले जानकारी दिए ।

नेपाली युवा रोजगारीको खोजीमा दिनानुदिन विदेसिरहेका बेला स्थानीय किसान आचार्य र कार्कीले भने आफ्नै देशमा केही गर्ने सोचका साथ काम गरिरहनुभएको छ । यस अवस्थामा उहाँहरूको प्रयास युवाहरूका लागि अनुकरणीय बनेको छ ।

विगतमा करिब १४ वर्ष युरोपमा बिताउनुभएका कार्की छ वर्षयता आफ्नै ठाउँमा व्यावसायिक कृषिमा जुटेका छन् । स्पेनलगायत देशमा कृषि क्षेत्रमा हासिल गरेको अनुभवलाई उनले हाल स्वदेशी माटोमा प्रयोग गरिहेका छन् ।

कार्कीले कृषि क्षेत्रमा नै करिब ९०० मिटर उचाइमा रहेको स्थानमा खरबुजा फलाएका हुन। यो नयाँ प्रयोग भएको उनले बताए। व्यावसायिक कृषिमा नयाँ प्रयोग गर्दै उहाँले देखाएको सफलता सबैका लागि अनुकरणीय बनेको छ । कार्की अघिल्लो वर्ष राम्रो खरबुजा उत्पादक किसानका रूपमा पोखरा महानगरपालिकाबाट पुरस्कृतसमेत भएका थिए ।

यस्तै, स्नातकसम्मको अध्ययन गरका भरतपोखरीका आचार्य आफ्नो १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकको अनुभव सँगाल्दै हाल व्यावसायिक कृषिमा रमाइरहेका छन् । तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषिमा लागेका आचार्यले पोखरा महानगरपालिका–३३ स्थित सुरौदीखोला तिखेढुङ्गामा पशुपालनसँगै व्यावसायिक तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन गर्दै आएका छन् ।

तरकारी खेतीसँगै पशुपालनमा उनले देखाएका क्रियाशीलता पनि अन्यका लागि राम्रो उदाहरण बनेको छ । “युवाहरू आफ्नै देशमा केही गर्नुपर्छ भन्नेभन्दा विदेसिने लहरमा छन् । धेरैले उत्पादनको बजार नै छैन भनेर कुरा गर्छन् तर मेहनत गरेमा उत्पादन उत्पादित कृषिजन्य वस्तुको बजार समस्या छैन । रोजगारीका लागि विदेसिनुपर्ने अवस्था छैन”, आचार्यले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij