२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना

1.6K
Shares

नवलपरासी- पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको रु ८५ लाख ८० हजार ७५५ रकम सञ्चालक समितिले हिनामिना गरेको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब रु ८६ लाख रकम हिनामिना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा नवलपरासी जिल्ला अदालतमा दर्ता भएपछि प्रतिवादी सुरेश चौधरी (कुर्मी), वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी (कुर्मी) ले जनही रु पाँच लाख धरौटी राखेर तारेखमा बसेका जानकारी दिए ।

“सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकिसोर गुप्ता (तेली), उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव हाजिर हुनुभएको छैन”, जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले भने ।

उनका अनुसार सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएपछि मुद्दामा उल्लेख गरिएका १५ जनालाई जिल्ला अदालतले पक्राउ पुर्जीसहित ३५ दिनभित्र अदालतमा हाजिर हुन आउनु भनी पात्र पठाइएको छ ।

उक्त सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दामा तीन जना हाजिर भएका जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधले बताउनुभयो । उहाँका अनुसार सहकारी दर्ता रहेको राप्ती उपत्यका दाङ (देउखरी) को पत्रबाट मुस्तफा शेखको जाहेरीले वादी नेपाल सरकार भएर जिल्ला अदालतमा सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएको छ ।

सहकारीको रकम हिनामिनासम्बन्धी कसुर ठहर भएमा बिगो बराबरको जरिवाना र तीन वर्षसम्म कैद हुने सहकारी ऐन, २०७४ को दफा १२४ मा व्यवस्था रहेको सरकारी वकिल कार्यालयका सूचना अधिकारी लोधले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij